इटहरीः इटहरीमा जारी तेस्रो अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा जीएचसीए काठमाडौं विजयी भएको छ । काठमाडौंले विराटनगरलाई ७७ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह क बाट ३ अङ्क जोडेको छ । समूह ‘क’ मै रहेको इटहरी शीर्ष स्थानमा रहेको छ भने विराटनगर पुछारमा रहेको छ ।
यसअघि बिहीबार भएको उद्घाटन खेलमा आयोजक इटहरी क्रिकेट एकेडेमीसँग पराजित भएको काठमाडौंले शुक्रबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ६९ रन बनाएको थियो । काठमाडौंको लागि महेश खत्रीले सर्वाधिक ५९ रन बनाउँदा अशोक पौडेलले ३८, सोनु देवकोटाले ३०, प्रवेश खड्काले १५ र अभिषेक थापाले १२ रन बनाए ।
बलिङतर्फ विराटनगरका दिपेश कँडेलले २, रेवतीरमण यादव, सचिन शर्मा र सुरज श्रेष्ठले १–१ विकेट लिए ।
जवाफमा १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १८ दशमलव १ ओभरमा अलआउट हँुदै ९२ रनमा सीमित भएपछि काठमाडौंले प्रतियोगितामा पहिलो जीत हात पारेको हो । विराटनगरका लागि रेवतीरमण यादवले ४४ रन बनाउँदा अभिनाश सिंहले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन् । सो खेलको म्यान अफ द म्याच ५ विकेट लिएर ३० रन जोडेका काठमाडौका सोनु देवकोटा घोषित भए । उनले नगद २ हजार र मेडल पाए ।
शुक्रबार नै सम्पन्न दोस्रो खेलमा भैरहवाले धनगढीलाई ४ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १ सय ६९ रनको योगफल खडा गरेको थियो । जवाफमा १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको धनगढी २० ओभरमा १६५ रन बनाउँदै अलआउट भएपछि भैरहवाले स्पष्ट जीतसँगै ३ अङ्क हात पारेको हो । जीतसँगै समूह ख मा रहेको भैरहवाले ३ अङ्क जोडेको छ । यसअघि बिहीबार भैरहवालाई पराजित गरेको प्रदेश नम्बर २ समूह ख मा शीर्ष स्थानमा रहँदा धनगढी भने पुछारमा रहेको छ ।
इटहरी क्रिकेट एकेडेमीको आयोजनामा शुरु भएकोे प्रतियोगितामा नेपालका प्रमुख टिम काठमाडौं, विराटनगर, भैरहवा, इटहरी, धनगढी र प्रदेश नम्बर २ गरी ६ टिमको सहभागिता रहेको छ । लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगिताको समूह क मा काठमाडांै, विराटनगर र इटहरी छन् भने समूह ख मा धनगढी, भैरहवा र प्रदेश नम्बर २ रहेका छन् । कात्तिक १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ र उपविजेताले नगद ५५ हजार र ट्रफी पाउनेछन् ।