इटहरीः इटहरीमा सञ्चालन भइरहेको तेस्रो अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आयोजक इटहरी क्रिकेट एकेडेमी र जीएचसीए काठमाडौ प्रवेश गरेका छन् ।

आज सम्पन्न खेलमा विराटनगरमाथि ४ रनको रोमाञ्चक जीत हात पार्दै इटहरी समूह क को विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो । लगातार दोस्रो पराजय बेहोरेको विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै काठमाडौ पनि समूह क बाटै उपविजेता भएर सेमिफाइनलमा प्रवेश गरेको छ ।

इटहरीस्थित नेपाल डिभिएम स्कुलको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ४६ रनको स्कोर खडा गरेको थियो । जारी प्रतियोगितामा लगातार दोस्रो जित हात पार्ने क्रममा इटहरीका लागि गौतम शर्माले सर्वाधिक ५३ रन बनाउँदा राज थापाले नटआउट ४६ रन बनाए । यस्तै, रितेश रायले १३ रन जोडे । बलिङतर्फ विराटनगरका रेवती यादवले ४ विकेट लिए ।

जवाफमा १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४४ रनमा सीमित भएपछि गत वर्षको विजेता विराटनगर प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगरका लागि राजन मगरले सर्वाधिक ५३ रन बनाए भने रेवती यादवले ४२, सचित शर्माले २१ र दिपेश कँडेलले १२ रन बनाए ।

बलिङतर्फ इटहरीका भुपाल लुइँटेलले २ तथा म्यान अफ द म्याच राज थापा र विकल्प आचार्यले १–१ विकेट लिए । आगामी सोमबारसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद ५५ हजार र ट्रफी पाउने आयोजकले जनाएको छ ।