इटहरीः ए डिभिजन राष्ट्रिय फुटसल लिग प्रदेश स्तरीय छनौट चरण आइतबारदेखि इटहरीमा हुने भएको छ ।

प्रदेश १ का ८ वटा फुटसल क्लबहरुबीच हुने खेल इटहरीमा रहेको पाथीभरा फुटसलमा आयोजना हुने भएको हो । प्रदेश १ मा हुने यो खेल क्वालिफायर चरणको रहेको आयोजकले जानकारी दिएको छ । यो प्रतियोगितामा जिल्ला फुटबल संघमा आबद्ध रहेका र राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएका तथा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका एवम् ए, वि र सि डिभिजन क्लबहरुले सहभागिता जनाउन पाउने अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ । सातै वटा प्रदेशमा हुने खेलबाट प्रत्येक प्रदेशका उत्कृष्ट एक टिमलाई राष्ट्रिय स्तरको फुटसलमा सहभागी गराइने संघले जानकारी दिएको छ ।

इटहरीमा हुने छनौट खेल आइतबार र सोमबार गरी दुई दिनसम्म सञ्चालन हुनेछ । यहाँ प्रथम हुने टिमले आगामी वर्षको वैशाख २५ देखि जेष्ठ १५ सम्म पोखरामा आयोजना हुने प्रतियोगितामा सहभागी हुन पाउनेछ । एउटा क्लबबाट एक जना प्रशिक्षक, एक जना टिम म्यानेजर र १० जना खेलाडी मात्र सहभागि हुन पाउने छन् । प्रतियोगितामा प्रथम र द्धितिय हुनेलाई क्रमश. दश लाख र पाँच लाख रुपैयाँ प्रदान गरिने संघले जानकारी दिएको छ ।