इटहरीः आयोजक इटहरी क्रिकेट एकेडेमी र प्रदेश नम्बर २ तेस्रो अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिनजिक पुगेका छन् ।

आइतबार सम्पन्न सेमिफाइनल खेलहरूमा जीत हात पार्दै इटहरी र प्रदेश नम्बर २ उपाधी नजिक पुगेका हुन् । पहिलो सेमिफाइनल खेलमा इटहरीले धनगढीमाथि २ विकेटको सङ्घर्षपूर्ण जीत निकाल्यो । इटहरीस्थित नेपाल डिभिएम स्कुलको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ४ बल खेल्दै सबै विकेट गुमाउँदै १ सय ९ रनको योगफल खडा गरेको थियो ।

धनगढीका लागि लोकेश बमले ५२ रन बनाउँदा रिदय बिहारीले २० र बिपिन रावलले १२ रन बनाए । बलिङतर्फ इटहरीका विकल्प आचार्य र निशान महतले ३–३ विकेट लिए । यस्तै भुपाल लुइँटेलले २ तथा राज थापाले १ विकेट लिए । १ सय १० रनको जवाफी ब्याटिङ गरेको इटहरीले निर्धारित पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा लक्ष्य भट्टाएको हो ।

जारी प्रतियोगितामा यसअघि लिग चरणका खेलमा लगातार दोस्रो जीत हात पारिसकेको इटहरीका लागि म्यान अफ द म्याच गौतम शर्माले सर्वाधिक ४२ रन बनाउँदा अङ्कित सुवेदीले २० र अलफाज मन्सुरीले १८ रन बनाए । बलिङतर्फ धनगढीका सागर भण्डारी, नरेन्द्र साउद, शेर मल्ल, सिफटन अन्सारी र लोकेश बमले एक–एक विकेट लिए ।

यस्तै, आइतबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा प्रदेश नं. २ ले जीएचसीए काठमाडांैलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै इटहरीसँगको उपाधि भीडन्त पक्का गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडांैले निर्धारित २० ओभरको खेलमा १५ ओभर खेल्दै ७६ रनको योगफल खडा गरेको थियो । जवाफमा ७७ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले १० ओभर खेल्दै १ विकेटको क्षतिमा सहज जीत निकाल्न सफल भयो ।

सो खेलको म्यान अफ द म्याच प्रदेश नम्बर २ का रवि शाह घोषित भए । प्रतियोगिताको उपाधि भीडन्त सोमबार हुनेछ । विजेताले नगद १ लाख ११ हजार रुपैयाँ तथा उपविजेताले नगद ५५ हजार र ट्रफी पाउने छन् ।

DSC_1161