विराटनगरः मोरङको विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा धरान सिटी फुटबल एकेडेमी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा शताक्षीधाम स्पोट्र्स क्लब झापालाई १–० गोलले पराजित गरी धरान सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै धरान बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा साइनो स्पोट्र्स क्लब रानीबीच हुनेछ । साइनोले क्वार्टरफाइनलमा गाइघाट फुटबल क्लब उदयपुरलाई ३–१ गोलले हराउँदै सेमिफाइनमा प्रवेश गरेको थियो । बुधबार फाइनल प्रवेशको लागि एलेभेन एरोज क्लब दुहबी सुनसरी र सशस्त्र प्रहरी बल पूर्वाञ्चलबीच हुनेछ । दुहबीले प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई १–० ले हराएको थियो भने सशस्त्रले उर्लाबारी फुटबल क्बल मोरङलाई ३–० ले पराजित गरी सेमिफाइनलको यात्रा सुरक्षित गरेको थियो । अन्तिम चारमा पुगेको धरानको जितको लागि एक मात्र निर्णायक गोल खेल सुरू भएको ४ औं मिनेटमा तपन कार्कीले गरे ।

उनले गरेको गोल टिमको लागि जित सुनिश्चित गर्ने माध्यम बन्यो । एकपक्षीय खेल पस्केको धरानका खेलाडीले पहिलो र दोस्रो हाफमा गरेको अधिकाशं प्रहारको झापाका गोलरक्षक सन्दीप लिम्बूले उत्कृष्ट बचाउ गरे । खेलको २५ औं मिनेटमा धरानका इन्सन राईले डिबक्स बाहिरदेखि गरेको प्रहार झापाका गोलरक्षक सन्दीपले गोल हुनबाट बचाए । त्यस्तै, धरानका मिलन लिम्बूको २५ औं मिनेट र विनोद राईको ३५ औँ मिनेटमा गरेको प्रहार झापाका गोलकिपर सन्दीपले पन्च गरी गोल हुनबाट उत्कृष्ट बचाउ गरे । आक्रमक रूपमा मैदान प्रवेश गरेको धरानका खेलाडीले बारम्बार पाएको प्रहार सन्दीपले उत्कृष्ट रुपमा बचाउँदा थप गोल खानबाट टिमलाई जोगाए । खेलको म्यान अफ द म्याच पनि झापाका गोलरक्षक सन्दीप लिम्बू घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् । खेलको अन्त्यतिर आक्रामक भएर झापाका खेलाडी मैदान उत्रिए पनि गोल गर्न नसक्दा खेल बराबरीमा ल्याउन चुक्यो । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने ट्रष्टका कोषाध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।