सुनसरीः आयोजक इटहरी क्रिकेट एकेडेमीलाई पराजित गर्दै प्रदेश नम्बर २ ले तेस्रो अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
सोमबार सम्पन्न फाइनल खेलमा आयोजक इटहरीलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रदेश नम्बर २ ले उपाधिसहित नगद १ लाख ११ हजार हात पारेको हो । उपविजेता इटहरीले नगद ५५ हजार र ट्रफी हात पारेको छ ।
इटहरीस्थित नेपाल डिभिएम स्कुलको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर २ ले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै २ सय १ रनको योगफल खडा गरेको थियो ।
प्रदेश नम्बर २ का लागि सोनु अन्सारीले सर्वाधिक ६० रन बनाउँदा रवि शाहले ५९ रन बनाए । यस्तै, अमित यादवले २८, विकास दासले १९, विवेक यादवले १३ र तीर्थराज दासले १० रन बनाए । बलिङतर्फ इटहरीका विकल्प आचार्यले २ विकेट हात पार्दा निशान महत, भुपाल लुइँटेल र राज थापाले एक–एक विकेट लिए ।
२ सय २ रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको इटहरीले निर्धारित २० ओभरको खेलमध्ये १६ दशमलव २ ओभर खेल्दै सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । यसअघि लिग चरणका खेलमा उत्कृष्ट प्रदर्शन गरेको इटहरीका लागि सुभाष यादवले ३२, गौतम शर्माले १७ र अलफाज मन्सुरीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रनको स्कोर जोड्न सकेनन् । बलिङतर्फ प्रदेश नम्बर २ का निखिल सिंहले ४ विकेट हात पार्दा गोमानन्द यादव र अदिल खानले २–२ विकेट लिए ।
फाइनल खेलको म्यान अफ द म्याच प्रदेश नम्बर २ का निखिल सिंह घोषित हुँदै नगद २ हजार र ट्रफी पाए । प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश २ का रवि शाह घोषित हुदै नगद १० हजार र ट्रफी पाए । यस्तै प्रतियोगितामा उत्कृष्ट बलर प्रदेश २ का विकास दास र उत्कृष्ट ब्याट्सम्यान इटहरीका गौतम शर्मा घोषित हुँदै नगद ५–५ हजार र ट्रफी पाए । विजेता तथा उपविजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बिष्टले पुरस्कार वितरण गरे ।
कात्तिक ८ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपालका प्रमुख टिम काठमाडौं, विराटनगर, भैरहवा, इटहरी, धनगढी र प्रदेश नम्बर २ गरी ६ टिमको सहभागीता रहेको थियो । लिग कम नकआउटको आधारमा खेलाइएको सो प्रतियोगिताको समूह क मा काठमाडौं, विराटनगर र इटहरी रहेका थिए । समूह ख मा धनगढी, भैरहवा र प्रदेश नम्बर २ रहेका थिए ।