केराबारीः खेलकुद विकास समिति केराबारी २ ले नववर्ष २०७८को अवसरमा प्रदेश नम्बर १ पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

समितिले आइतबार केराबारीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । प्रथम जेफाले प्रदेश नम्बर १ पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगिता नाम दिइएको सो प्रतियोगिता वैशाख ३ गतेदेखि सञ्चालन हुने आयोजक खेलकुद विकास समिति केराबारी २ ले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका, झापाको बिर्तामोड नगरपालिका र दमक नगरपालिका, मोरङको बेलबारी नगरपालिका, संखुवासभाको खाँदबारी नगरपालिका, भोजपुरको षडानन्द नगरपालिका, आमचोक गाउँपालिका र आयोजक टिमले सहभागिता जनाउनेछन् ।

२०४३ सालदेखि निरन्तर रुपमा हरेक नयाँ वर्षको अवसरमा भलिबल प्रतियोगिता गर्दै आएको भन्दै यस पटकदेखि दायरा बढाएर प्रदेश १ का पालिकास्तरीय कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ । नयाँ वर्षको अवसरमा केराबारी २ सिंहदेवीस्थित जेफालेमा सांगीतिक कार्यक्रम र साहित्यिक कार्यक्रमअन्तरगत श्रृजना वाचन कार्यक्रम पनि गरिने आयोजकको भनाइ छ । प्रतियोगितामा प्रथम हुनेले नगद ७५ हजार, कप, मेडल र प्रमाणपत्र, दृतीय हुनेले नगद ५० हजार, कप मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब ७ लाख खर्च हुने आयोजकको अनुमान छ ।