वराहक्षेत्रः कमलपोखरी युवा समूह वराहक्षेत्रले पिडारीको दुबियाही खेल मैदानमा तिहार तथा छठ पर्वको अवसरमा प्रथम स्व. गंगाबहादुर स्मृति कप २०७५ को आयोजना गरेको छ । बराहक्षेत्रका नगरप्रमुख नीलम खनालको प्रमुख आतिथ्यमा भएको उदघाटन खेलमा रामधुनी फुटबल क्लब इक्राहीले शम्भुनाथ क्लब एकम्बा लाई ० का विरुद्ध २ गोल गरी विजयी भएको छ । खेलमा म्यान अफ द म्याच रामधुनी फुटबल क्लब इक्राहीका साजन रार्इ घोषित भए ।

खेलको मुख्य प्रायोजन स्वर्गीय बस्नेतका छोरा डेनमार्कमा कार्यरत यादव बस्नेतले गरेका छन् । त्यसैगरी सह प्रायोजन सुनसरी पोल्ट्री फर्म रामधुनीले गरेको छ । खेलमा जम्मा ८ वटा टिमले भाग लिएको खेल संयोजक प्रेमबहादुर लिम्बूले बताए ।

खेलको विजेता टिमले ४० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । खेलमा जम्मा १ लाख ५० हजार खर्च हुने आयोजकले अनुमान गरेको छ ।

भोलिको खेल पञ्चायन फुटबल क्लब र इटहरी ब्याइज क्लबबीच हुने आयोजकले जनाएको छ ।