धरानः धरान–१८ स्थित धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बिहीबार भएको मैत्रीपूर्ण फुटसल खेल भएको छ ।

धरानका सञ्चारकर्मी र आयोजक कलेजबीच धरान–१८ स्थित बुढासुब्बा फुटसल एण्ड रिक्रिएसन सेन्टरमा भएको खेलमा सञ्चारकर्मीको टोलीले कलेजलाई ६–५ गोल अन्तरले पराजित गरेको हो । निर्धारित ४० मिनेटको खेलमा जीतका लागि सञ्चारकर्मीको टोलीबाट धिरेन लिम्बूले ह्याट्रिक गरेका थिए ।

त्यसैगरी, सञ्चारकर्मीकै तर्फबाट विकास चाम्लिङले २ र बिकी श्रेष्ठले १ गोल गरे । आयोजक कलेजका तर्फबाट गोविन राई र सञ्जय राईले २÷२ गोल गरेका थिए । कलेजका सिइओ लोकेन्द्र श्रेष्ठले १ गोल गरेका थिए । मैत्रीपूर्ण खेल हुनुपूर्व कलेजका होटेल म्यानेजमेन्ट र कुलिनरी आट्र्स (पाक शिक्षा) बीच खेल भएको थियो ।

सो खेलमा म्यानेजमेन्टले ८–३ को फराकिलो गोल अन्तरले कुलिनरीलाई पराजित गरेको थियो । त्यस्तै, महिलातर्फ भने कुलिनरीले जीत हात पारेको थियो । उसले होटेल म्यानेजमेन्टलाई ४–३ गोल अन्तरले पराजित गरेको थियो । विजेता हुने टिमलाई सप्ताहव्यापी कार्यक्रम समापनको दिन शुक्रबार पुरस्कृत गरिने कलेजले जनाएको छ ।

विद्यार्थीको पढाइसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत टिम वर्कको विकासका लागि फुटसल गराइएको कलेजका सिइओ श्रेष्ठले बताए ।