इटहरी / विश्वकपमा सर्र्वािधक विजय भएको हेभिवेट टिम ब्राजिललाई स्वीट्जरल्याण्डले आइतबार राति बराबरीमा रोक्यो ।
हुन त सन् २०१४ को पहिलो खेलमा पनि स्विस टिमले साबिक विजेता स्पेनलाई १–० गोल अन्तरले हराएर रेकर्ड कायम गरेको थियो । तर, विश्वकप आउनु अगाडिका सबैजसो खेलमा लगालग जित निकालेको ब्राजिललाई समान १–१ गोलमा रोक्नु स्वीस समूहको ठूलो जीत हो ।

_102090046_brazilvswitzerlandhero_getty 1
विश्वकप अगाडिका सबै खेलमा गोल नखाई विजयी भएको थियो ब्राजिल । २३ मार्चमा रसियालाई ३–०, २७ मार्चमा जर्मनीलाई १–०, ३ जुनमा क्रोएसियालाई २–० र १० जुनमा अष्ट्रियालाई ३–० अन्तरले हराएको थियो ब्राजिलले । जीत निकाल्दै आएको ब्राजिल आइतबार समूह चरणको पहिलो खेलमा भने स्वीस टोलीसँग १–१ को बराबरीमा रोकियो ।
यो नतिजाले विश्वभरका ब्राजिलमा विश्वास राख्ने फ्यानहरूमा मात्रै होइन फुटबल पण्डितहरूमा पनि आश्चर्य छाएको छ । यो विषयमा स्वीस मिडिया पनि खुसी देखिन्छन् ।
स्वीट्जरल्याण्डबाट प्रकाशन हुने द लोकन डट सिएच अनलाइनले यस नतिजाको बारेमा बोल्दै लेखेको छ, ‘योसँगै अब शुक्रबार कोस्टारिकासँगको खेलमा ब्राजिललाई थप दबाब भएको छ ।’
यस्तै स्वीट्जरल्याण्डकै अंग्रेजी संस्करणको मिडिया स्वीस इन्फोले त ‘के स्वीट्जरल्याण्डले वल्र्डकप जित्छ’ भन्ने विषयमा आर्टिकल नै लेखेको छ । थोमस स्टेफेन्सले लेखेको उक्त आलेखमा स्वीट्जरल्याण्डले वल्र्डकप जित्ने आधार १.८ प्रतिशत मात्रै मानेको तथ्य दिएका छन् । तर, स्वीट्जरल्याण्ड विश्वको छैटौँ राम्रो समूह भएको पनि लेखक स्टेफेन्सले एक स्वीस सर्भेलाई उद्धृत गर्दै लेखेका छन् । उनले छनोट चरणबाट दोस्रो चरणमा स्वीस टिम दोस्रो हुने ४० प्रतिशत हाराहारी सम्भावना भएको पनि लेखेका छन् ।

के भन्छन् ब्राजिलियन मिडिया ?
अंग्र्रेजी संस्करण भएका स्वीस मिडियामा ब्राजिलविरुद्ध बराबरीको खेल निस्केकोमा खुसियाली छाएविपरीत ब्राजिलियन मिडियामा भने चिन्ता प्रकट भएको छ । ब्राजिलको प्रसिद्ध अंग्रेजी दैनिक ‘द रियो टाइम्स’ले लेखेको छ, ‘सन् २०१४ को गृह मैदानमा भएको ७–१ को लज्जास्पद पराजयबाट उठ्ने उद्देश्यका साथ ब्राजिल २०१८ को विश्वकपमा प्रवेश गरेको थियो ।’ नेल्सन बेलेनले लेखेको उक्त समाचारमा ब्राजिलका मुख्य कोच टेटेलाई उद्धृत गर्दै भनिएको छ, ‘अवश्य पनि मेरो उद्देश्य विजय थियो । आजको नतिजासँग म खुसी छैन ।’
द रियो टाइम्सले नेमारलाई सन् १९९८ पछिको विश्वकपमा सर्वाधिक १० पटक फल गरेको भनी लेख्दै नेमारले पाएका २ वटा फ्री किकको अवसर गुमाएको पनि उल्लेख गरेको छ ।