इटहरीः एकीकृत मार्सल आर्टस् तङ्इल मोदोको विश्वकपमा स्वर्णपदक प्राप्त गर्ने इटहरी–५ की खेलाडी पूजा चौधरीलाई इटहरी उपमहानगरले नगदसहित सम्मान गरेको छ । इटहरीका मेयर द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले २५ हजार नगदसहित उनलाई सम्मान गरेका हुन् ।

इटहरीवासी पूजाले इटहरीको नाम विश्वमा चिनाउन मद्दत गरेको भन्दै मेयर चौधरीले सम्मान कार्यक्रममा प्रशंसा गरेका थिए । इटहरी उपमहानगर र तङइल मोदो संघ इटहरीले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

चौधरीले भारतमा हालै सम्पन्न तङइल मोदोको विश्वकपमा स्वर्ण पदक प्राप्त गरेकी थिइन् । प्रतियोगितामा नेपालले ६ स्वर्ण, ३ रजत र ७ कास्य पदक जितेको छ ।

खेल क्षेत्रबाट पनि इटहरीको विकासमा उल्लेख्य योगदान हुने भन्दै मेयर चौधरीले खेलकुदको लागि उर्वर भूमि इटहरीलाई छिटै स्पोर्ट सिटी घोषणा गर्ने बताए ।

‘गत साल प्राविधिक कारणले घोषणा गर्न सकिएन’, चौधरीले भने, ‘अब आउने नगरसभाबाट इटहरीलाई स्पोर्ट सिटी घोषणा गरिन्छ ।’