दुहबीः सुनसरीको दुहबीमा नगरस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । मङ्गलबार दुहबी नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा दुहबी नगरपालिकाका प्रवक्ता विजय चौधरीले प्रथम मेयर कपको तयारी भइरहेको जनाएका हुन् ।

दुहबी नगरपालिकाको आयोजना तथा एलेभेन एरोज क्लब दुहबीको संयोजनमा कात्तिक २९ गतेदेखि मंसीर १० गतेसम्म प्रतियोगिता हुन लागेको हो । मेयर कप फुटबल प्रतियोगितामा विजेता टिमले नगद ५१ हजार, कप तथा मेडल र प्रमाणपत्र पाउने छन् ।

उपविजेता टिमले नगद २५ हजार तथा कप, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट विधाका खेलाडीलाई समेत पुरस्कृत गरिने प्रवक्ता चौधरीले बताए ।

दुहवी ५ स्थित सरस्वती माविको खेल मैदानमा २ हप्ता चल्ने प्रतियोगितामा करिब ४ लाख ५१ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । दुहबीमा पहिलो पटक हुन गइरहेको मेयर कप फुटबल प्रतियोगितामा दुहबी नगरपालिकाका १२ वटै वडालाई सहभागी गराउने बताइएको छ ।

पत्रकार सम्मेलनमा दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले खेलकुद विकासलाई प्राथमिकतामा राखेर स्थानीय खेलाडीलाई अवसर दिनुका साथै स्थानीय ठाउँको पहिचानका लागि प्रतियोगिता गर्न लागेको बताए । स्थानीय प्रतिभाको पहिचान गरी नयाँ खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग पु¥याउने उनले बताए ।

मेयर गच्छदारले फुटबललाई व्यवसायीकरण गरेर स्थानीय स्तरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको बताए ।