इटहरीः सगरमाथा युवा क्लबको आयोजनामा तरहरामा भोलिदेखि प्रदेश नं. १ स्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ । आज तरहरा बजारको सगरमाथा खेल मैदानमा आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगितासम्बन्धी जानकारी गराएको हो ।

बास्केटबल खेलको विकास गरी खेलको माध्यमबाट खेलाडी र प्रदेशका नागरिकबीच अन्तरसम्बन्ध विस्तारका लागि पनि प्रतियोगिताको आयोजन गरिएको आयोजक समितिका सल्लाहकार सिजन गुरुङले बताए । प्रतियोगिताको लागि उपमहानगरपालिकाले पर्याप्त आर्थिक लगायतका अन्य सहयोग गर्न नसकेकोमा उनले खिन्नता प्रकट गरे ।

गुरुङले पत्रकार सम्मेलनमा भने, ‘प्रदेशस्तरीय खेल प्रतियोगिता इटहरीमा नै गर्ने युवाको सत्कार्यमा उपमहानगरपालिका अनुदार बनिनु आफैँमा दुःखलाग्दो पक्ष हो ।’

प्रतियोगितामा १४ टिम सहभागी हुने र विजेता टिमले ३० हजार र उपविजेताले १५ हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र र अन्य आकर्षक उपहार पाउने आयोजकले जनाएको छ । त्यस्तै, मस्ट भ्यालुएबल खेलाडीलाई नगदसहित आकर्षक उपहार प्रदान गरिने बताइएको छ ।