इटहरीः नेपाल तेक्वान्दो सङ्घअन्तर्गत रहेका मोरङका २ जना प्रशिक्षक र २ सय ५० जना खेलाडी राष्ट्रिय तेक्वान्दो सङ्घमा प्रवेश गरेका छन् ।

प्रशिक्षक इन्द्रबहादुर तामाङ र सुजन कार्कीसहित सिनियर ब्ल्याक बेल्ट र जुनियर खेलाडी गरी ५ वटा डोजाङका २ सय ५० जना खेलाडी राष्ट्रिय तेक्वान्दो सङ्घमा प्रवेश गरेका हुन् । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय तेक्वान्दो सङ्घ नेपालका उपाध्यक्ष हरिबहादुर बुढाथोकीले अबिर लगाएर राष्ट्रिय तेक्वान्दो सङ्घमा स्वागत गरेका थिए ।

taekwando  (27)

प्रमुख अतिथि बुढाथोकीले देशैभर नेपाल तेक्वान्दो सङ्घ छाडी राष्ट्रिय तेक्वान्दो सङ्घमा प्रवेश गर्नेको लहर चलेको बताए । आफ्नो सङ्घकै कारण तेक्वान्दो खेलमा जरा गाडेर बसेको एकतन्त्रीय शासनको अन्त्य भएको उनको भनाइ थियो ।

आफूहरू राष्ट्रिय तेक्वान्दो सङ्घमा प्रवेश गर्नुको कारणबारे जानकारी दिँदै प्रशिक्षक तामाङले नेपाल तेक्वान्दो सङ्घ पारदर्शी नभएको बताए । ‘हिसाब पारदर्शी राख्न र सङ्घलाई सक्रिय बनाउन बारम्बार अनुरोध गरियो,’ तामाङले भने, ‘तर त्यसको सुनुवाइ नहुने र नेतृत्वको हालीमुहाली मात्रै हुने प्रवृत्ति देखेपछि सो संस्था छोड्न बाध्य भइयो ।’

आफू प्रवेश गरेको सङ्घले खेलाडीको हक हितको लागि विभिन्न कार्यक्रम गर्ने गरेको र पारदर्शी तथा खेलाडीमैत्री भएको उनले बताए ।

प्रशिक्षक कार्कीले नयाँ सङ्घमा आबद्ध भएपछि तेक्वान्दोको क्षेत्रमा बहार आउने बताए । अब विभिन्न प्रतियोगितामा खेलाडीलाई सहभागी गराउने क्रम बढ्नेमा उनले विश्वास व्यक्त गरे ।

taekwando  (24)

कार्यक्रममा १ नम्बर प्रदेशका राष्ट्रिय तेक्वान्दो सङ्घका संयोजक पीताम्बर पौडेल र सुनसरी जिल्ला अध्यक्ष खेम कार्की उपस्थित थिए । त्यस्तै, प्रशिक्षकहरू दिनेश गिरी, सूर्य दंगाल, द्वारिका रेग्मी, ज्ञानेन्द्र बिक, खगेन्द्र कटुवाललगायतका प्रशिक्षकको पनि कार्यक्रममा उपस्थिति थियो ।

कार्यक्रममा नयाँ सङ्घमा प्रवेश गरेका प्रशिक्षक र खेलाडीलाई प्रमुख अतिथि बुढाथोकीले प्रमाणपत्र प्रदान गरेका थिए । १ सेट खेल सामग्री पनि सो अवसरमा बुढाथोकीले प्रशिक्षकलाई प्रदान गरेका थिए । कार्यक्रम सूर्य दङ्गालले सञ्चालन गरेका थिए ।

taekwando  (20) taekwando  (34)