झापाः मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको तेस्रो संस्करणमा आयोजक काँकरभिट्टा फुटबल टे«निङ सेन्टर मेचीनगरले ७ लाख रुपैयाँ भन्दा बढी घाटा बेहोर्नु परेको छ ।

पत्रकार सम्मेलन गरी आयोजक संस्थाका अध्यक्ष मीनबहादुर बस्नेतले ४१ लाख ८५ हजार १ सय रुपैयाँ आम्दानी भएको जनाए । त्यस्तै, ४९ लाख ३६ हजार १ सय ८० रुपैयाँ खर्च भएको उनले जनाए । दाताहरुले कबोलेको रकम नदिँदा घाटा लागेको उनले प्रष्ट्याए ।

विभिन्न सङ्घ संस्था र व्यक्तिसहित ६० जना र गेट टिकटबाट ४१ लाख ८५ हजार १ सय रुपैयाँ आम्दानी भएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा मेची नेत्रालयका प्रमुख डाक्टर शरदचन्द्रप्रकाश राई, सेन्टरका सल्लाहकार संयोजक गंगालाल गुरुङ, खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापा, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेतलगायतले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए ।

सेन्टरका अध्यक्ष मीनबहादुर बस्नेतको सभापतित्वमा कार्यक्रम भएको थियो ।