वराहक्षेत्रः तेस्रो वराहक्षेत्र प्याब्सन खेलकुद सप्ताह २०७५ अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगितामा वराह एकेडेमी र सिद्धार्थ मेमोरियल विजयी भएका छन् । आधारभूत विद्यालयतर्फ वराह एकेडेमी र माध्यमिक विद्यालयतर्फ सिद्धार्थ मेमोरियल विजयी भएका हुन् ।
आधारभूत तहको खेलमा वराह एकेडेमीले जीवनज्योति इङ्लिस बाघझोडालाई ७– १ गोल अन्तरले पछि पारेको हो । माध्यमिक तर्फको खेलमा सिद्धार्थले सुनसरी गार्डेनलाई १–० गोलले पछि पारी जीत हात पारेको हो । आधारभूत तहको खेलमा वराह एकेडेमीका नवराज श्रेष्ठ र माध्यमिक तर्फको खेलमा सिद्धार्थ मेमोरियलका क्याप्टेन अजय चौधरी उत्कृष्ट खेलाडी घोषित भए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनको वराहक्षेत्र शाखाले सो प्रतियोगिता आयोजना गरेको हो । विजयी विद्यालयले १५ हजार र उपविजेता विद्यालयले १० हजार रुपैयाँ पुरस्कार पाउने प्याब्सन वराहक्षेत्रका अध्यक्ष कृष्ण तामाङले बताए ।
प्रतियोगितामा माध्यमिक तह र आधारभूत तह गरी २ चरणका खेलहरू सञ्चालन हुनेछन् । आधारभूत तहतर्फ ८ वटा विद्यालय र माध्यमिक तहतर्फ १२ वटा विद्यालय सहभागी भएका छन् ।
मङ्गलबार प्याब्सन वराहक्षेत्रका अध्यक्ष कृष्ण तामाङको सभापतित्व तथा सुनसरी जिल्ला प्याब्सनका अध्यक्ष सुमित थापाको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन भएको थियो ।