धरान: प्रावि तहबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले १५ औं संस्करणको ‘ललित–अम्बर डिपो कप–२०७५’ प्रतियोगिता आगामी मंसीर १६ गतेदेखि शुरु हुने भएको छ ।
धरान–१८ स्थित डिपो उच्च माविले प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतियोगिता मंसीर २४ गतेसम्म सञ्चालन हुने भएको हो । मङ्गलबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गदै आयोजकले जनाएअनुसार डिपोसहित जिल्लाभरका १६ वटा निजी विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने छन् ।
‘सुनसरीभरीका निजी विद्यालयका १६ टिमलाई मात्र सहभागी गराउँछौ,’ अयोजक डिपो उच्च माध्यमिक विद्यालयका प्राचार्य राजकुमार राईले भने, ‘जुन विद्यालय पहिला आउँछ त्यसले सहभागी हुन पाउँछ ।’
डिपो माविको खेल मैदानमा हुने प्रतियोगितामा कक्षा ५ सम्मका १२ वर्ष मुनिका विद्यार्थीले सहभागीता जनाउन पाउने छन् । त्यसैगरी, खेलाडीको उचाइ ४ फिट १० इन्च हुनपर्ने छ भने गोलकिपरको हकमा ४ फिट ११ इन्चसम्मलाई खेलमा सहभागी गराइने विद्यालय सञ्चालक समितिका सदस्य एवम् प्रतियोगिताका संयोजक भीमराज लिम्बूले बताए ।
प्रतियोगिताको विजेता विद्यालयले नगद १० हजार रुपैयाँसहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः नगद ५ हजार र ३ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै, ललित–अम्बर कप प्रतियोगिताबाट बाहिरिएका विद्यालयबीच ‘दिलकुमार प्लेट च्याम्पियन कप–२०७५’ प्रतिस्पर्धा गराइने बताइएको छ । विद्यार्थीको खेलप्रति मनोबल नघटोस् भन्ने उद्देश्यले प्रत्येक वर्ष यो प्रतियोगिता गराइएको संयोजक लिम्बूले बताए ।
उक्त प्रतियोगिताको विजेता विद्यालयले नगद ३ हजार रुपैयासहित रनिङ शिल्ड र प्रमाणपत्र पाउनेछ । प्लेट रनर–अप बन्नेले नगद २ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै, डिपोले यसपटक डिपो कपको लोगो पनि सार्वजनिक गरेको छ । ‘डिपो कप’को लोगो बनाउनको लागि विद्यालयका ४० जना विद्यार्थी प्रतिस्पर्धामा उत्रिएका थिए । ३९ जना विद्यार्थीलाई पछि पार्दै कक्षा–१० का समय महत्तोले बनाएको लोगो उत्कृष्ट घोषित गर्दै डिपोले यसपटकदेखि आधिकारिक रूपमा प्रयोगमा ल्याएको प्रधानाध्यापक राईले बताए । लोगोको डिजाइन गर्ने विद्यार्थीलाई प्रतियोगिताको समापनका दिन पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।
भूपू बेलायती सैनिकले सञ्चालन गरेको विद्यालय भएकाले खेललाई अलि बढी प्राथमिकता दिइएको संयोजक लिम्बूले बताए । ‘हामी ब्रिटिस आर्मीका भूपूहरूले चलाएको स्कुल भएर अलिक खेललाई प्राथमिकता दिएका हौं’ लिम्बूले भने ‘२०६१ सालदेखि निरन्तर रूपमा जिल्लाव्यापी प्रतियोगिता गराएर डिपोको लोकप्रियता बढाउने काम गर्दैछौं ।’