धरानः दोस्रो मेयर कप स्कुल ओलम्पिक–२०७५ बुधबारदेखि शुरु भएको छ ।

धरान उपमहानगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा गत वर्षदेखि प्रतियोगिता शुरु भएको हो । धरान–१६ स्थित प्रस्तावित क्षेत्रीय रङ्गशालामा भव्य समारोहबीच सङ्घीय सांसद जयकुमार राईले प्रतियोगिता उद्घाटन गरे ।
सांसद राईसहित प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी र कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारीले संयुक्त रूपमा शान्तिको प्रतीक परेवा उडाएर औपाचारिक कार्यक्रमको उद्घाटनको घोषणा गरे ।

कार्यवाहक नगरप्रमुख भण्डारीले दिवङ्गत मेयर तारा सुब्बाको परिकल्पनामा स्कुल ओलम्पिकको शुरुवात गरिएको बताइन् । मन्तव्य राख्ने क्रममा निकै भावुक मुद्रामा देखिएकी उनले भनिन्, ‘मेयर सा’बको एउटा भिजन थियो, यो नगरलाई खेलको शहर बनाउपर्छ भन्ने । हरेक विधाका खेलाडी उत्पादन गर्नुपर्छ, खेलाडीलाई देश विदेशमा पठाउन सकिएन भने क्षमतावान् बनाइएन भने के को खेलको शहर ? त्यसैले मेयरकप गर्नुपर्छ ।’

धरानको समग्र खेलकुद क्षेत्रको विकास गर्ने भन्ने दिवङ्गत मेयर सुब्बाको सपनालाई साकार पार्न आफू लागिरहने उनले प्रतिबद्धता जनाइन् । उनले धरानको खेलकुद पूर्वाधारको विकासको लागि उपमहानगर लागिरहेको बताइन् । अन्य शहरको तुलनामा धरानलाई खेलकुदको शहर घोषणा गर्न योग्य रहेकाले सभामुख भण्डारीमार्फत् प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।
यसैगरी, धरानको खेल क्षेत्रको पूर्वाधार विकासको लागि बजेट विनियोजन गर्ने कुरामा पहल गर्ने सभामुख भण्डारीले आश्वासन दिए । समग्र खेल क्षेत्रको विकास लागि कानुन निर्माण गर्ने कार्य भइरहेको समेत उनले बताए ।

कार्यक्रममा सशस्त्र प्रहरीको ब्याण्डबाजाको तालमा धरानका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले मार्चपास गरेका थिए ।

त्यसैगरी, विभिन्न जातिको सांस्कृतिक झाँकीले उद्घाटनसत्र झनै भव्य भएको थियो । उद्घाटनको क्रममा यस पटक पनि प्याराग्लाइडिङबाट पुष्पगुच्छा वर्षा गरिएको थियो । गायिका प्राश्ना शाक्यले आफ्नो प्रस्तुुति दिएकी थिइन् । युरेका मावि र सुनाखरी माविका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

मंसीर १७ गतेसम्म सञ्चालन हुने स्कुल ओलम्पिकमा नगरभरका १३ सामुदायिक विद्यालयसहित ५४ वटा विद्यालयले सहभागीता जनाएको नगर खेलकुद विकास समितिका संयोजक सुवास राईले बताए । उनका अनुसार यस पटक सेपाक टेक्रो र कबड्डी खेल थप गरी जम्मा १२ विधामा खेलमा विद्यार्थीहरू प्रतिष्पर्धा उत्रिएका छन् ।

फुटबल खेल भने मंसीर १ गतेदेखि नै शुरु भएको छ । यस पटक ७३ स्वर्ण पदक, ७३ कास्य पदक र १ सय २४ रजत पदक राखिएको छ । सबैभन्दा बढी स्वर्ण पदक जित्ने विद्यालयलाई नगद १ लाख २० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले बताए । यसैगरी, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश ८० हजार र ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।

dosro mayer cup dharan (3) dosro mayer cup dharan (4) dosro mayer cup dharan (5)