वराहक्षेत्रः वराहक्षेत्रमा जारी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) वराहक्षेत्र शाखाले गरेको फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलबाट सिर्जनशील र राजाबास अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
आधारभूत विद्यालयतर्फ सिर्जनशील इङ्लिस स्कुलले २–० गोलले सुविधा इङ्लिस स्कुललाई हरार्ई सेमिफाइनलमा प्रवेश गरेको हो । माध्यमिक विद्यालयतर्फ राजाबास इङ्लिस स्कुलले ५–० गोलले डिभाइन लाइट एकेडेमी स्कुललाई पछि पारेको हो ।
आधारभूततर्फ सिर्जनशील इङ्लिसका साहिल चौधरी र अरयम राजधामीले १–१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सुविधा इङ्लिस स्कुलका नवीन माझी घोषित भए । आधारभूत तर्फको सेमिफाइनल मंसिर १० गतेदेखि हुने आयोजकले जनाएको छ ।
माध्यमिक विद्यालयतर्फ राजाबास इङ्लिस स्कुलका बिसुहाङ लिम्बूले खेलको १० औं र १५ औं मिनेटमा गोल गरेका थिए । अरुण बस्नेत, रञ्जन लिम्बू र सुजन थापाले १–१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच राजबासका अरुण बस्नेत घोषित भए ।