धरानः धरानमा सञ्चालित मेयरकप स्कुल ओलम्पिक अन्तर्गत शनिबारबाट ब्याडमिन्टन खेल शुरु भएको छ । धरान–१३ स्थित अमर सेवा समाजको कभर्ड हलमा खेल शुरु भएको हो ।

ब्याडमिन्टनको उद्घाटन ब्याडमिन्टन सङ्घका उपाध्यक्ष चन्द्रशेखर लिम्बूको प्रमुख आतिथ्यतामा भएको थियो । सुनसरी जिल्ला ब्याडमिन्टन सङ्घका सचिव एवम् ब्याडमिन्टन प्रतियोगिताका संयोजक प्रतीक श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

उद्घाटन समारोहमा धरानको वडा नम्बर १३ का अध्यक्ष नेत्रप्रसाद काफ्ले तथा अमर सेवा समाजका अध्यक्ष हरिबहादुर लिम्बू विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा धनबहादुर राई, गणेश खडका, धरान जेसीजका पूर्व अध्यक्ष वसन्त कर्माचार्य, सुनसरी जिल्ला ब्याडमिन्टन सङ्घका सदस्य लगायतका अतिथिको उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथिले प्रमुख निर्णायक रकम लिम्बूलाई सटल कर्क हस्तान्तरण गरेका थिए । प्रतियोगितामा २५ स्कुलका १ सय १५ विद्यार्थीहरू ७ वटा गोल्ड मेडलका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

धरान उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा सुनसरी जिल्ला ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोग रहेको छ ।