धनकुटाः मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करण आजदेखि धनकुटामा शुरु भएको छ ।
मदन भण्डारी स्पोर्ट एकेडेमी प्रदेश नं. १ को आयोजनामा धनकुटाको तल्लो टँुडिखेलमा प्रतियोगिता शुरु भएको हो । आज पहिलो दिन पाँच खेल भएका छन् ।
उद्घाटन खेलमा भोजपुरलाई सुनसरीले २५–१९ र २५–१८ को सेटमा पराजित गरेको छ । त्यस्तै, सङ्खुवासभाले खोटाङलाई २५–१४ र २८–२६ ले तथा ताप्लेजुङले ओखलढुङ्गालाई २५–२० र २८–२६ स्कोरले पराजित गरेको छ । झापाले धनकुटालाई २५–१० र २५–१५ तथा मोरङले इलामलाई २५–२२ र २५–२३ को सेटले पराजित गरेको छ । प्रतियोगितामा प्रदेश नं. १ का १४ जिल्लाका १४ टिमको सहभागिता रहेको छ ।
लिग चरणमा हुने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १ लाख ५१ हजार १ सय ११, उपविजेताले १ लाख १ हजार १ सय ११, तेस्रो हुनेले ५१ हजार १ सय ११ र चौथो हुनेले २५ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता आगामी मंसिर १३ गतेसम्म सञ्चालन हुने बताइएको छ ।