वराहक्षेत्रः वराहक्षेत्रमा जारी तेस्रो वराहक्षेत्र प्याब्सन फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको प्रि–सेमीफाइनल खेलमा जय सप्तकोशी इङ्लिस स्कुल र राजाबास इङ्लिस स्कुल अघिल्लो चरणमा पुगेका छन् ।

सिद्धार्थ मेमोरियल स्कुललाई टाइब्रेकरमा पराजित गर्दै जय सप्तकोशी सेमी फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेपछि टाइब्रेकरमा सिद्धार्थलाई पछि पार्दै जय सप्तकोशी ४–३ गोल अन्तरले विजयी भएको हो । यसअघि सिद्धार्थका तर्फबाट पहिलो गोल खेलको दोस्रो हाफमा अजय चौधरीले गरेका थिए । प्रतिस्पर्धात्मक खेलको अतिरिक्त समयमा जय सप्तकोशीका तर्फबाट पुजन उरावले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए ।

खेलको म्यान अफ द म्याच जय सप्तकोशीका गोलरक्षक बाबुराम थापा भए । उनलाई वराहक्षेत्र प्याब्सनका पूर्व अध्यक्ष मोहन भट्टराईले ट्रफी प्रदान गरे ।

आइतबारै भएको दोस्रो प्रि–सेमीफाइनल खेलमा वराह राइजिङ स्कुल चतरालाई हराउँदै राजाबास इङ्लिस स्कुल सेमीफाइनलमा खेलमा पुगेको छ ।

राजाबासले वराह राइजिङलाई टाइब्रेकरमा हराएको हो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेलको नतिजा टाइब्रेकरमार्फत् लिइएको थियो ।

६–५ गोल अन्तरले वराह राइजिङलाई हराउँदै राजाबास सेमीफाइनलमा पुगेको हो । खेलको म्यान अफ द म्याच राजाबासका सुजन थापा घोषित भए ।

सोमबारको खेल आधारभूत तहअन्तर्गत आइरिस वराह एकेडेमी चतरा र सप्तकोशी विद्या मन्दिरबीच हुने छ । दोस्रो खेल चिल्ड्रेन हार्ट एकेडेमी सालबनी र सिर्जनशील इङ्लिस स्कुल वराहक्षेत्रबीच हुने खेल संयोजक रोनी विष्टले जानकारी दिए ।
प्रतियोगितामा विजयी हुने टिमले १५ हजार नगद, ट्रफी र मेडल प्राप्त गर्नेछ । उपविजेताले १० हजार नगदसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।