धरानः दोस्रो मेयर कप स्कुल ओलम्पिक अन्तर्गत मङ्गलबार भएको बास्केटबल खेलमा छात्रतर्फ डिपोट स्कुल र छात्रातर्फ नवज्योति स्कुल विजयी भएका छन् ।

धरान–१८ स्थित डिपोट माविको बास्केटबल कोर्टमा भएको फाइनल खेलमा डिपोटले धरान–१८ कै कार्मेल हाइस्कुललाई ५१–४९ अङ्कको झिनो अन्तरले पराजित गर्दैै विजयी भएको हो ।

त्यसैगरी, धरान–१५ को नवज्योति स्कुलले धरान–१९ को पर्वत बोर्डिङ स्कुललाई २१–१९ अङ्कको झिनो अन्तरले पराजित गर्दै विजेता बनेको हो । विजेता बनेका डिपोट र नवज्योतिले स्वर्ण पदक हात पारे । उपविजेतामा चित्त बुझाएका कार्मेल र पर्वतले रजत पदक प्राप्त गरे ।

डिपोटले १२–१६, ७–१५, १३–७, १९–११ सेटले कार्मेललाई हराएको थियो । नवज्योतिले पर्वतलाई ७–०, ६–९, ६–६, ०–६ सेटमा हराउन सफल भयो । शुरुवाती चरणमा निकै कमजोर प्रस्तुति देखाएको डिपोटले अन्तिम क्वाटरमा अङ्क जोड्न सफल भएको थियो । गत वर्षको फाइनल खेलमा पनि यी दुई टिमबीच कडा प्रतिष्पर्धा भएको थियो । त्यसबेला पनि डिपोट २ अङ्कले विजेता बनेको थियो ।

छात्रतर्फ धरान–१३ को लोटस विद्या विहार र छात्रातर्फ आइडियल स्कुल तेस्रो बन्दै कास्य पदक हात पारे । विजेता सबैलाई प्रमुख अतिथि १८ नम्बर वडाका अध्यक्ष प्रवीण राई, नेपाल टेबलटेनिस सङ्घका पूर्व अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य प्रभु श्रेष्ठ, नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष तथा धरान बास्केटबल सङ्घका अध्यक्ष सुरज लामालगायतले पदक र प्रमाणपत्र प्रदान गरे ।

पुरुषतर्फ डिपोटका वैभव योगी र महिलातर्फ नवज्योतिकी लियालिशा श्रेष्ठ मस्ट भ्याल्लुएबल प्लेयर घोषित भए । दुवै जनालाई नगद २ हजार रुपैयाँसहित एक थान बास्केटबल, मेडल र प्रमाणपत्र प्रदान गरिएको जिल्ला बास्केटबल सङ्घ सुनसरीका अध्यक्ष नारायण सुवेदीले बताए ।

धरान उपमहानगरपालिका अन्तर्गत गत वर्षदेखि शुरु भएको स्कुल ओलम्पिकको बास्केटबल खेलमा पुरुषतर्फ २१ टिम र महिलातर्फ १७ टिमका गरी २ सय ५० जना विद्यार्थी सहभागी भएका थिए ।