वराहक्षेत्रः वराहक्षेत्रमा जारी तेस्रो वराहक्षेत्र प्याब्सन फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको सेमीफाइनल खेलमा जय सप्तकोशी इङ्लिस स्कुल विजयी भएको छ ।
मुनबिम एकेडेमी स्कुललाई ५–४ गोलले पछि पार्दै जय सप्तकोशी इङ्लिस स्कुल फाइनलमा पुगेको हो । प्रतिष्पर्धात्मक खेलको अतिरिक्त समयसम्म खेल बराबर भएपछि टाइब्रेकरमार्फत् खेलको निर्णय गरिएको थियो ।
मुन बिम एकेडेमीका खेलाडीलाई जय सप्तकोशी इङ्लिस स्कुलका खेलाडीले डि एरियाभित्र लडाएर पाएको पेनाल्टीो सदुपयो गर्दै मुनबिम एकेडेमीका मिलन राईले १ गोल गरेका थिए । त्यसको ८ मिनेटपछि जय सप्तकोशीका मनिष राईले १ गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । त्यसपछि कुनै पनि टिमले गोल नगरेपछि टाइब्रेकरको माध्यममार्फत् खेलको निर्णय भएको थियो ।
खेलको म्यान अफ द म्याच जय सप्तकोशीका गोलरक्षक बाबुराम थापा घोषित भए । उनलाई राजाबास इङ्लिस स्कुलका निर्देशक सन्तोष राईले ट्रफी प्रदान गरे ।
मङ्गलबार नै भएको दोस्रो सेमीफाइनल खेलमा राजाबास इङ्लिस स्कुल लाई हराउँदै गत वर्षको विजेता स्काइ इङ्लिस स्कुल फाइनलमा पुगेको हो ।
खेलको पहिलो हाफमा स्काई इङ्लिस स्कुलका समीर राईले २ गोल गरेका थिए । त्यसपछि राजाबास इङ्लिस स्कुलका रञ्जन लिम्बूले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच स्काई इङ्लिस स्कुलका खेलाडी दिवस तामाङ घोषित भए । उनलाई चक्रघट्टी जेसीजका अध्यक्ष देवकुमार चौधरीले ट्रफी प्रदान गरे ।
फाइनल खेल १३ गते हुने आयोजकले जनाएको छ । आधारभूततर्फ सिर्जनशील इङ्लिस स्कुल र सप्तकोशी विद्या मन्दिरबीच फाइनल खेल हुनेछ । माध्यमिक तहअन्तर्गत स्काइ इङ्लिस स्कुल र जय सप्तकोशी इङ्लिस बीच हुने आयोजकले जनाएको छ ।