धरानः धरानमा जारी दोस्रो मेयरकप स्कुल ओलम्पिक खेल अन्तर्गत बुधबार सम्ममा ७ वटा खेल सम्पन्न भएका छन् ।

ओलम्पिकमा हुने विभिन्न १२ वटा खेलमध्ये तेक्वान्दो, एथ्लेटिक्स, भलिबल, ब्याडमिन्टन, बुद्धिचाल, बास्केटबल र सेपाकटेक्रो खेल सम्पन्न भएका हुन् । बाँकी ५ वटा खेल अहिले सञ्चालन भइरहेका छन् । धरान उपमहानगरपालिका नगर खेलकुद विकास समितिका अनुसार बुधबार सम्ममा ९ स्वर्ण, ५ रजत र २ कास्य पदक सहित डिपो मावि अग्रस्थानमा छ । त्यस्तै, ९ स्वर्ण २ रजत र १२ कास्यसहित सैनिक आवासीय मावि दोस्रो स्थानमा छ ।

त्यसैगरी, ४ स्वर्ण, ४ रजत र ३ कास्य हित नवज्योति स्कुल तेस्रो स्थानमा छ । ४ स्वर्ण, २ रजत र १ कास्य पदक सहित शारदा बालिका मावि चौथो स्थानमा छ ।

‘खेलतालिका अनुसार बुधबार कबड्डी र टेबलटेनिस खेलको फाइनल खेल हुनुपर्ने थियो । तर समय अभावका कारण फाइनल खेल हुन नसकेको नगर खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले जानकारी दिए ।

कबड्डीको फाइनल खेल बिहीबार हुनेछ भने टेबलटेनिसको फाइनल खेल शनिबार हुने उनले बताए । योसँगै क्रिकेट, फुटबल र कराँतेका खेल हुन बाँकी छन् । यसपटक भएका खेल निकै रोचक र प्रतिष्पर्धात्मक भएको राईले बताए ।

‘गत वर्षदेखि प्रायः सबै विद्यालयले विद्यार्र्थीलाई विभिन्न खेलका लागि तयार गर्न थालेका छन् । गत वर्षभन्दा यस वर्ष खेलको स्तर बढेको पाइएको छ’, उनले भने ।