दुहबीः सुनसरीको दुहबीस्थित श्री सरस्वती मा.वि. को खेल मैदानमा बुधबार भएको प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १० ले हात पारेको छ ।

मध्यान्तरअघि नै ८ गोल
फाइनल खेलमा वडा नम्बर १० ले वडा नम्बर ७ लाई ८–० गोल अन्तरले उपाधि चुम्न सफल भएको हो । खेलको मध्यान्तर अघि दुहबी वडा नम्बर १० का खेलाडी कुन्दनकुमार चौधरीले २ गोल गरेका थिए । समित कुमार चौधरी र कविन्द्रनारायण चौधरीले ह्याट्रिक पूरा गरेका थिए ।

विजेता वडा नम्बर १० लाई खेलका प्रमुख अतिथि दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले नगद ५१ हजार रुपैैयाँ, कप तथा मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । उपविजेता वडा नम्बर ७ लाई खेलका विशिष्ट अतिथि अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य दीपक राईले नगद २५ हजार तथा कप, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । खेलको उत्कृष्ट खेलाडी दुहबी १० का कुन्दनकुमार चौधरी घोषित भए । उनलाई नगद १ हजारसहित मेडल प्रदान गरिएको थियो । प्रथम मेयर कप फुटबल प्रतियोगिताभरका विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो ।

प्रतियोगिताभरका उत्कृष्ट खेलाडी पुरस्कृत
प्रतियोगिताभरको उत्कृष्ट गोलरक्षकमा वडा नम्बर १० का गोलरक्षक रामकुमार चौधरी, उत्कृष्ट डिफेन्समा वडा नम्बर ७ का सुरज माझी र उत्कृष्ट फरवार्डमा वडा नम्वर १० का कविन्द्रनारायण चौधरी र उत्कृष्ट मिड फिल्डरमा वडा नम्बर १० का अजितकुमार चौधरी घोषित भए उनीहरुले जनही २ हजार रुपैयाँ नगद र प्रमाणपत्र पाए ।

उदीयमान खेलाडी ग्रीस चौधरीलाई नगद ४ हजारसहित ट्रफी पाए भने हाइ स्कोररमा वडा नम्बर २ का श्रवणकुमार गच्छदार र वडा नम्बर १० का खेलाडी समितकुमार चौधरीले नगद ४–४ हजारसहित ट्रफी पाए । उत्कृष्ट खेलाडीमा वडा नम्बर १० का प्रह्लादकुमार माझी, उत्कृष्ट जर्सीमा वडा नम्बर ५ का वडाध्यक्ष रमेशकुमार रौनियार र फेयर प्ले ट्रफीमा वडा नम्बर ३ का वडाध्यक्ष माधव भण्डारीले नगद ५ हजारसहित ट्रफी प्राप्त गरे ।

उत्कृष्ट कोचमा वडा नम्बर १० का शिवप्रकाश चौधरी र उत्कृष्ट टिम मेनेजरमा वडा नम्बर १० का देवचरण बहरदार घोषित भए । उनीहरूले जनही नगद ३ हजार रुपैयाँ र ट्रफी पाए ।