वराहक्षेत्रः यस वर्षको तेस्रो बराहक्षेत्र प्याब्सन खेलकुद प्रतियोगिताको उपाधि सप्तकोशी विद्या मन्दिर र जय सप्तकोशी इङ्लिस स्कुलले हात पारेका छन् । आधारभूत विद्यालयतर्फको प्रतियोगितामा सप्तकोशी विद्या मन्दिर र माध्यमिक विद्यालयतर्फको प्रतियोगितामा जय सप्तकोशीले उपाधि हात पारेका हुन् ।

वराहक्षेत्र–३ स्थित एभरेष्ट फुटबल क्लबको खेलमैदान नडाहा मा भएको फाइनल खेलमा सप्तकोशी विद्या मन्दिरले सिर्जनशील इङ्लिस स्कुल वराहक्षेत्रलाई शून्यका विरुद्ध ३ गोल गरी विजयी भएको थियो । विजयी स्कुलका खेलाडी सौरभ साहले २ गोल गरेका थिए । सिर्जनशीलका खेलाडीले सप्तकोशीका खेलाडीलाई डि एरियाभित्र लडाएपछि पाएको पेनाल्टीमा सप्तकोशीका सुजल लिम्बूले थप गोल गरेका थिए ।

माध्यमिक विद्यालयतर्फको खेलमा सप्तकोशी इङ्लिस स्कुलले स्काई इङ्लिस स्कुललाई शून्यका विरुद्ध २ गोल गरी विजयी भएको थियो । सप्तकोशीको तर्फबाट पुजन उराव र विवेक खत्रीले १–१ गोल गरेका थिए ।

मंसीर ४ गते शुरु भएको प्रतियोगिताका दुवै तहका विजेता टिमले मेडल, ट्रफी र प्रमाणपत्रको साथमा नगद पुरस्कार हात पारे । विजेता टिमले १५ हजार उपविजेता टिमले १० हजार नगद पाएका थिए ।

माध्यमिक विद्यालयतर्फको फुटबल प्रतियोगितामा उत्कृष्ट गोलकिपर जय सप्तकोशीका बाबुराम थापा घोषित भए भने उत्कृट डिफेन्समा स्काइ इङ्लिस स्कुलका लिपस तामाङ घोषित भए ।