विराटचोकः बाल सदन एकेडेमीमा खेलकुद सप्ताह सम्पन्न भएको छ । सप्ताहको समापनको अवसरमा शुक्रबार विद्यालयले विभिन्न प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण गरेको छ ।

खेलकुद सप्ताहअन्तर्गत भएको एथलेटिक्समा ट्रयाक र फिल्डमा विभिन्न विधामा प्रतिष्पर्धा गराइएकोे थियो । त्यस्तै, कबड्डी, ब्याडमिन्टन, तेकवान्दो, चेस प्रतियोगिता गराइएको थियो ।

साना कक्षाका विद्यार्थीको लागि मेमोरी टेस्ट, चकलेट दौड, बेलुन फुटाउने, स्किपिङजस्ता खेलबीच प्रतिष्पर्धा गराइएको विद्यालयले जनाएको छ ।

समापनको अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाको शिक्षा विभागका अधिकृत सन्तोष बराल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल सूर्य दङ्गालले खेल सप्ताहको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बरालले माध्यमिक तह सञ्चालन गरेको छोटो समयमा नै विद्यालयले विद्यार्थीकेन्द्रित विभिन्न गतिविधि र प्रतिष्पर्धा आयोजना गर्न सफल भएको बताए ।

प्रतियोगिताका विजयीले ११५ वटा स्वर्ण पदक, २० वटा रजत पदक र २० वटा कास्य पदक पाएका थिए । कक्षा १० का विद्यार्थी अब्राहम प्रधानले सबैभन्दा धेरै ६ वटा स्वर्ण पदक जितेका थिए ।

एथलेटिक्स, ब्याडमिन्टन तथा कबड्डी खेलका विजेताले पुस महिनामा हुने नगरस्तरीय प्याब्सन स्पोर्टस मिटमा सहभागी हुन पाउने प्रधानाध्यापक दीपक केसीले बताए ।

bal sadan (3) bal sadan (2) bal sadan (4)