इटहरी: इटहरी उपमहानगरपालिकाले क्रिकेट मैदान मासेर पार्क बनाउने भनी गरेको निर्णयको विरोध गर्दै क्रिकेट खेलाडीहरू उपमेयर लक्ष्मी गौतमलाई ज्ञापनपत्र बुझाउन मङ्गलबार गए । उपमेयरलाई ज्ञापनपत्र बुझाएर पार्क निर्माण प्रक्रिया रोक्ने विश्वासमा खेलाडीहरू उपमेयरसमक्ष गएका थिए । तर निर्माण कार्य रोक्नुपर्ने माग राख्न गएका खेलाडी तब छक्क परे जब उपमेयरले नै जनता पार्क क्रिकेट खेल मैदानमा बनाउन लागेको विषयमा आफू अनभिज्ञ भएको बताइन् ।

इटहरी डिभिएम स्कुल छेउको क्रिकेट मैदानमा बन्न लागेको जनता पार्कको विषय अहिले बिस्तारै विवादमा तानिँदै गएको छ । स्थापित क्रिकेट मैदान मासेर पार्क बनाउन लागिएको मेयरको एकलौटी निर्णयले इटहरीको खेल जगत धराशायी बनाउने आरोप खेलाडीको छ । नगरसभाले पास नगरेको र बजेटमा नै नपरेको ठाउँमा बजेट खर्च गर्न लागिएकाले खेलाडीबाट मात्र होइन अन्य जनप्रतिनिधि र मेयरभित्र पनि विवाद बढ्न थालेको छ ।

यसरी उपमहानगरको ‘जनता पार्क इटहरी’ कार्यक्रम शिलान्यास हुनुभन्दा अगाडि नै विवादमा पर्न शुरु भएको हो । उपमहानगरपालिकाले मंसिर २० गते मुख्यमन्त्री शेरधन राईबाट जनता पार्क शिलान्यास कार्यक्रम गर्ने पत्र प्रायः धेरै संस्था र व्यक्तिलाई पठाइसकेको छ ।

मेयरको सचिवालयले पनि विभिन्न मिडियामार्फत् त्यसबारेमा जानकारी गराइसकेको छ । तर पार्क निर्माणको शिलान्यासको विषय नगरपालिकाकै ‘सेकेण्ड म्यान’ अर्थात् उपप्रमुखले आफूलाई थाहा नभएको बताएपछि पार्क निर्माण विवादमा पर्ने देखिएको छ ।

मुख्यमन्त्री नै ल्याएर ठूलो कार्यक्रमका बीच शिलान्यास गरिने भनेर प्रचारप्रसार भइरहेको बेला कार्यक्रमबारे उपमेयरले नै आफू अनभिज्ञ रहेको बताएकी हुन् । ‘मुख्यमन्त्री आएर शिलान्यास गर्ने भनेर सञ्चार माध्यममा थाहा पाएँ, तपाईंहरूले थाहा पाउनुभएको रहेछ’, गौतमले भनिन्, ‘समाचार हेरेपछि मात्र कार्यक्रम रहेको थाहा पाएँ ।’

क्रिकेट मैदानमा पार्क निर्माण गर्न रेडबुकमा बजेट छैन
उपमहानगरपालिकाले गत असारमा नगरसभा गरेर बजेट सार्वजनिक गर्यो । सभाले पारित गरेर उपमहानगरले निकालेको रेडबुकमा पनि क्रिकेट मैदानमा पार्क बनाउने विषय उल्लेख भएको छैन । उपमहानगरपालिकाले निकालेको बजेट किताबको बजेट अनुसूची ८ मा जनता पार्कको लागि बजेटको व्यवस्था गरिएको छ ।

व्यवस्था अनुसार उपमहानगरपालिकाको वडा नम्बर ५ मा जनता पार्क बानाउने निर्णय गरेको छ । इटहरी ५ मा बनाउने भनिएको जनता पार्कमा उपमाहानगरले अनुसूची ८ को बुँदा नम्बर ४६ मा ५० लाख रुपैयाँ छुट्याएको छ । तर अहिलेको क्रिकेट मैदानमा बनाउन लागिएको पार्क भने इटहरीको वडा नम्बर ९ मा पर्दछ ।

बजेटको विषयमा ज्ञापनपत्र लिने क्रममा गौतमले भनिन्, ‘हाम्रो बजेट विनियोजन अनुसार जनता पार्क इटहरीको ५ नम्बर वडामा निर्माण गरिने भनिएको छ । तर कार्यपालिकाको बैठकमा समेत उक्त विषयको जानकारी नदिई रकमान्तर भएकाले मलाई थाहा नभएको हो ।’
नगर प्रमुख द्वारिकालाल चौधरीले आमन्त्रण गरेको पत्रमा इटहरी ९ मै पार्क शिलान्यासको लागि मुख्यमन्त्री आउने जनाइएको छ । चौधरीले बाँडेको निमन्त्रणामा शिलान्यास हुने स्थान जुट अनुसन्धान तथा रेशमखेती विकास कार्यक्रमको पूर्वी किनार लेखिएको छ ।