इटहरीः जनता पार्क बनाउने विषयमा विवाद बढिरहेको बेला इटहरी उपमहानगरपालिकाको कार्यपालिकाको बैठकको बहुमतले क्रिकेट मैदानको छेउमै जनता पार्क बनाउने निर्णय गरेको छ । बुधबार भएको कार्यपालिकाको बैठकमा उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम भने उपस्थित थिइनन् । सो बैठकको बहुमतले जनता पार्क बनाउने निर्णय पारित गरेको हो ।

itahari karyapalika pradesh portal

मेयर द्वारिकलाल चौधरीले कार्यपालिकाबाट निर्णय नै नगराई इटहरीको वडा नम्बर ५ बाट एकाएक वडा नम्बर ९ मा पार्क बनाउने निर्णय गरेका थिए । डिभिएम स्कुल छेउको क्रिकेट खेल मैदान छेउमा मुख्यमन्त्री शेरधन राईद्वारा पार्कको शिलान्यास गराउने एकल निर्णय मेयरले गरेका थिए । तर उपप्रमुख लक्ष्मी गौतमले पार्क बनाउने कुरा आफूले थाहा नपाएको भनी मिडियामै भनेपछि यो विवाद सतहमा देखा परेको थियो ।
उपमेयरको मिडिया अभिव्यक्ति र क्रिकेट मैदान छेउमा पार्क बनाउने निर्णयबाट रुष्ट भएका खेलाडीबाट आलोचित भएपछि चौधरीले कार्यपालिकाबाटै पार्क बनाउने निर्णय पारित गराएका छन् ।

कार्यपालिकाको बैठकपूर्व पनि सबै पक्षलाई भेटेर चौधरीले जनता पार्क बनाउने विषयमा सकारात्मक हुन आग्रह गरेका थिए । कार्यपालिकाको बैठक हुनुपूर्व प्रस्तावको विपक्षमा बोल्न सक्ने सम्भावित वडाध्यक्षसँग चौधरीले छुट्टाछुट्टै ‘टेबल टक’ समेत गरेका थिए । 

dvm SCHOOL 1

‘मुख्यमन्त्री राईले डिभिएम स्कुलको खेल मैदान छेउमा पार्कको शिलान्यास गर्ने विषय पत्रिकामार्फत् थाहा पाएपछि सबै आश्चर्यमा परेका थियौँ’, इटहरी–६ का वडाध्यक्ष दीपक गौतमले भने, ‘पछि मेयर सा’पले सबैसँग छलफल गर्नु भयो ।’ माथिको प्रेसरले काम गर्न नसकिने हुनाले अन्तिम समयमा मात्र शिलान्यासको जानकारी गराएको मेयरलाई उद्धृत गर्दै गौतमले बताए ।