दमकः नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) अमरसिंह शाहले आफ्ना दिवङ्गत पितृको स्मृतिमा दमक नगरपालिकालाई बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि १० कठ्ठा जग्गा निःशुल्क दिएका छन् ।

दिवङ्गत पिता नारायणसिंंह र माता ज्योतिकुमारी सिंहको स्मृतिमा उनले करिब १ करोड ५० लाख रुपैयाँ पर्ने दमका–९ स्थित १० कठ्ठा जग्गा दान दिएका हुन् । खेलकुदमा रुचि राख्ने उनी दमक– ९ का स्थायी बासिन्दा हुन् ।

दाता शाहले दिएको जग्गामा ‘नारायण–ज्योति मल्टिपल कभर्डहल’ यसै आर्थिक वर्षबाट निर्माण शुरु गरिने नगरप्रमुख रोमनाथ ओलीले जनाए । उनका अनुसार सुविधासम्पन्न सो कभर्डहल आगामी ५ वर्षभित्रमा बनाइसक्ने लक्ष्य लिइएको छ । जग्गादान, नामकरण तथा निर्माणसम्बन्धी व्यवस्थापकीय विषयमा समेत दाता परिवारसँग सहमति भई हस्ताक्षार भइसकेको ओलीले बताए ।
नगरपालिकाको बोर्ड बैठकले कभर्ड हल निर्माणका लागि नगर खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईंको संयोजकत्वमा निर्माण समिति र जग्गादाता शाहको संयोजकत्वमा अनुगमन तथा सल्लाहकार समितिसमेत गठन गरिसकेको बताइएको छ ।