इटहरीः भारत र नेपालको सीमावर्ती क्षेत्रमा लगाइएको तारबार (फेन्सिङ्ग) ले काम गर्न छोडेपछि झापाको बाहुनडाँगीमा हात्तीको बथान नै प्रवेश गरेको छ ।

हात्तीले सबैभन्दा बढी दुःख दिने क्षेत्रको रुपमा चिनिएको झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ बाहुनडाँगी क्षेत्रमा हात्तीको बथान देखिएको हो ।

नेपाल भारत सिमानामा लगाइएको बार ‘फेन्सिङ्ग’ले काम गर्न छोडेपछि हात्तीका बथान भारत हुँदै नेपाल प्रवेश गरेको मेचीनगर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अर्जुनकुमार कार्कीले बताए ।

विगतका समयमा जंगली हात्ती प्रवेश गरेर जनधनको क्षति गर्ने बाहुनडाँगीमा बार लगाएर हात्तीको प्रवेश केही हदसम्म कम गरिएको भएता पनि मंगलबार अजंगका हात्तीको बथान नेपाल प्रवेश गरेको थियो ।

फेन्सिङ्गको रुपमा जैविक तटबन्धन गर्ने, बाटोलाई व्यवस्थित गर्ने र अन्य विविध तरिकाले नियन्त्रण गर्ने भन्ने हिसाबले आफूहरु लागेको वडाध्यक्ष कार्कीले प्रदेश पोर्टललाई बताए ।

‘हामी यसलाई व्यवस्थापन गर्दै छाँै । पहिले फेन्सिङ लगाएको थियो । अहिले फेन्सिङ्गले काम नगरेर हात्ती नेपाल प्रवेश गरेका छन् । हामी जैविक तट्बन्धन गरी बाटोलाई व्यवस्थित गर्दै यसको नियन्त्रण गर्छौँ ।’ कार्कीले भने ।

स्थानीय सरकारको यस वर्षको नीति तथा कार्यक्रममा हात्तीको व्यवस्थापन गर्नेगरी कार्यक्रम आउने कार्कीको भनाइ छ । लामो समयदेखि पर्यटन र बाहुनडाँगीमा हात्तीको आत्तंकबारे अभियन्ताको रुपमा काम गरिरहेका कार्की यसपालि सोही वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए । कार्कीको जितसँगै हात्ती आतङ्कबाट आजित स्थानीयहरु सकारात्मक अभियानको थालनी हुनेमा आशावादी देखिएका छन् ।