धनकुटा: धनकुटाको चुलाचुलीमा २ दिनदेखि जारी गाउँ तथा नगरपालिकास्तरीय अध्यक्ष भलिबल प्रतियोगिताको उपाधि साँगुरीगढी गाउँपालिकाले जितेको छ ।
छथर गाउँपालिकाको आयोजनामा बिहीबार भएको फाइनल खेलमा पाख्रीबासलाई सोझो ३ सेटमा हराउँदै साँगुरीगढी गाउँपालिका विजयी बनेको हो । साँगुरीगढीले २५–१६, २५–२२ र २५–१७ को सोझो सेटमा हराएको थियो । जीतसँगै साँगुरीगढी गाउँपालिकाले उपाधीसहित नगद ५० हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता पाख्रीबास नगरपालिकाले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । विजेता र उप–विजेता टोलीलाई प्रदेश प्रमुख गोविन्द सुब्बा, प्रदेश सभासद् निरन राई र गाउँपालिका अध्यक्ष शेरबहादुर राईले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।
खेल अवधिभरिको म्यान अफ द म्याच, स्पाइकर र सर्भिसको उपाधी क्रमशः साँगुरीगढीका आतेस मगर, आतेवा मगर र रोशन बिकले पाए ।
कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, प्रहरी निरीक्षक सुरेन्द्रबहादुर गुरुङ, सशस्त्र प्रहरीका डिएसपी बालकृष्ण श्रेष्ठ, शहीदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई, चिया उत्पादक सहकारीका अध्यक्ष इन्द्र सारु मगरको उपस्थिति रहेको थियो । प्रतियोगितामा चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालिकाबाहेक घरेलु २ टोलीसहित ५ वटा स्थानीय तहका ६ वटा भलिबल टोलीको सहभागिता रहेको खेलकुद विकास समितिका अध्यक्ष चन्द्र लिम्बूले जानकारी दिए ।