विराटनगरः प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेलाई बोल्दाबोल्दै निकै गाह्रो भयो । गला अवरुद्ध भयो, तर रुन भने सकेनन् । सायद मनलाई शान्त बनाउने प्रयास गरे । हृदय पोल्यो, गला सुक्यो अनि पानीको सहाराले गला सफा गर्दै भाषण पढ्न थाले । प्रायःजसो कार्यक्रममा बिनातयारी बोल्ने वाग्लेले आइतबार भने तयारी मन्तव्य वाचन गर्दै थिए । कार्यक्रमको संयोग थियो बोर्डकै आयोजनामा भएको प्रदेश १ भरिबाटै ओलम्पिक, साफ र एसियन खेलमा सहभागी खेलाडीलाई सम्मानपत्र हस्तान्तरणको ।

खेलाडीहरु राष्ट्रका गहना हुन् । जसरी कलाकारहरु गहना हुन् । खेलको माध्यमबाट देश, विदेशमा गएर आफ्नो देशलाई चिनाउँदै खेल प्रस्तुत गर्ने खेलाडीहरु कति आज खेतबारीमा छन्, कति खेल्दाखेल्दै अपाङ्गताको शिकार बनेका छन् अनि कति उपचार खर्च नभएर रोग पालेर बसेका छन् । जो आफ्ना दह्रा पाखुरी हुञ्जेलसम्म देशको नाम बोकेर विश्वका विभिन्न खेल मैदानमा नेपाल ! नेपाल ! भन्दै चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा बोकेर मुस्कान खेल्दै थिए आज तिनै खेलाडीलाई देशले चिन्न नसकेको भन्ने कटु सत्यले प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ का सदस्यसचिव वाग्लेलाई भावुक बनाएको थियो ।

hansaraj1

आफ्नो जीवनमै सबैभन्दा ठूलो खुसीको क्षणको रुपमा लिँदै आफ्नो मन्तव्य सुरु गरेका वाग्लेले आफूले ओलम्पिक, साग र एसियन खेलमा सहभागी खेलाडीलाई पुनर्मिलन गराउन पाएकोमा आफू गौरवान्वित भएको बताए । उनले यति मात्र बताएनन् आफू पनि खेलकर्मी भएको र खेलकर्मीलाई हेर्ने खेलकुद विकास बोर्डको सदस्यसचिवमा आफूलाई जिम्मेवारी दिएकोमा खुसीसमेत व्यक्त गरे । बोर्डको सदस्यसचिवमा रहेपनि आफूले खेलाडीलाई केही दिन नसकेको र मात्र कदरपत्र प्रदान गर्न लागेकोमा दुःखीसमेत देखिएका उनी राष्ट्रले खेलाडीलाई हेर्ने दृष्टिकोण दरिद्र भएको टिप्पणी गरेका थिए । हामी गरीब देशमा भएकाले सोचाइ पनि गरीब र खेलकुद र खेलाडीलाई हेर्ने सोच त झनै महागरीब भएको वाग्लेको टिप्पणी थियो ।

उनले एउटा खेलाडीको पीडा कति हुन्छ भन्ने कुरा उसैलाई मात्र थाहा हुने बताउँदै हामी खेलाडीबाट मेडलको मात्र आशा गर्ने, फोटो खिच्ने तर खेलाडीको घरमा चुल्हो बलेको छ कि छैन, भरे खानेकुरा छ कि छैन भन्ने कुरामा भने कसैको ध्यान नजाने समेत उनले बताए । खेलाडीको जागिर छैन भन्दै घाइते ज्यान उपचार गर्ने पैसा नहुँदा मृत्यु पर्खनेबाहेक अरु विकल्प केही नहुने गरेको वाग्लले बताउँदै गर्दा सभा आफैँ मौन भएझैँ भयो । कार्यक्रममा आइरहँदा खेलाडीलाई एक रात बस्ने व्यवस्था पनि गर्न नसकेकोमा दुःख व्यक्त गर्दै वाग्लेले आफ्नो र मुख्यमन्त्री साथै सामाजिक विकास मन्त्रीको पहलमा नोबेल मेडिकल कलेज र काठमाडाँै मेडिकल कलेजमा प्रदेश १ भरिका ओलम्पिक, साफ र एसियन खेलमा सहभागी खेलाडी र उनका परिवारलाई उपचार सेवा प्रदान गरेको बताइरहँदा खेलाडीहरुको तर्फबाट खुसीको मुहारसहित तालीको पर्रा निकैबेर बजिरह्यो । यति भनिसक्दा वाग्लेले भने थप केही बोल्न सकेनन् बरु आफू भावविह्वल भएको भन्दै आफ्नो मन्तव्य त्यहीँ अन्त्य गरे ।

287937510_572337580941470_1113094598223644685_n

खेलाडी सम्मान नाम दिइएको सो कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डले प्रदेश १ बाट ओलम्पिक खेलमा सहभागी भएका ६ जना, साफ खेलमा सहभागी भएका १४३ जना र एसियन खेलमा सहभागी भएका ४० जना खेलाडीलाई ताम्रपत्रसहित सम्मान गरेको थियो । कार्यक्रममा सम्मानित खेलाडीको तर्फबाट मन्तव्य व्यक्त गर्दै पूर्वबक्सिङ्ग खेलाडी ओम मास्केले खेलाडीका लागि अर्को ठाउँमा जागिर खाने उमेर नभएकोले सम्मानको हकदार भएको बताए । उनले खेल गतिविधि सञ्चालन गर्नका लागि जिल्लाहरुमा खेल मैदान, खेल सामग्री लगायतको अभाव भएको समेत बताए । प्रदेश खेलकुद विकास बोर्डमा खेलाडी नै आएको हुनाले प्रदेशको खेल गतिविधि चलायमान हुने बताउँदै मास्केले खेलाडीको स्वास्थ्य उपचार निःशुल्क गरिदिने सम्झौता गरेकोमा खेलकुद विकास बोर्डलाई धन्यवादसमेत व्यक्त गरे ।

288447584_1069921313646208_7824757837580095912_n

कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विकसित देशको खेलाडी भएको भए कोही प्राइभेट जेटमा त कोही प्राइभेट हेलिकप्टरमा आउने स्मरण गराउँदै नेपालजस्तो गरीब देशमा खेलाडीलाई ठूलो उपचार गर्नुपर्यो भने चन्दा उठाउनुपर्ने दुःखद अवस्था रहेको चित्रण गरे । खेलाडीहरुको हक र हितकै लागि आफूहरुले खेल क्षेत्र बुझेको व्यक्तिलाई सदस्यसचिव बनाएको बताउँदै मुख्यमन्त्री राईले राज्यले गरिदिनुपर्ने काम नोबेल मेडिकल कलेज र काठमाडाँै मेडिकल कलेजले गरिदिएकोमा धन्यवादसमेत व्यक्त गरेका थिए । 

कार्यक्रममा काठमाडौँ मेडिकल कलेजका सुनिल शर्मा, नेपाल ओलम्पिक एसोसियसनका अध्यक्ष दीपक बिष्ट, महासचिव निलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतले खेलाडीको सम्मान तथा निःशुल्क उपचार दिने व्यवस्था गरिदिएर प्रदेश १ ले ऐतिहासिक र राम्रो काम गरेको बताए । विराटनगरको एयरपोर्ट मोडस्थित पर्पल हेज रेष्ट्रोमा भएको कार्यक्रममा आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्गबो, आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेल, पर्यटन मन्त्री खिनु लुङ्गवा लिम्बूलगायत प्रदेशसभाका सदस्यहरुको उपस्थिति रहेको थियो ।