इटहरीः घोराही सिमेन्ट कम्पनीले प्रिमियम मूल्यमा साधारण शेयर निष्कासन गर्ने भएको छ ।

घोराही सिमेन्ट कम्पनीले ७९ लाख ४३ हजार कित्ता सेयर निष्कासनका लागि २ वटा बिक्री प्रबन्धकसँग सम्झौता गरेको छ ।  घोराही सिमेन्ट कम्पनीले प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्न लागेको हो । प्रिमियम मूल्य भने अहिले खुलाइएको छैन तर सामान्यतया साधारण शेयरमा हुने प्रतिकित्ता एक सय रुपैयाँभन्दा बढी नै हुन्छ । 

कम्पनीले हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङ्गलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

आइबार एक कार्यक्रमको आयोजना गरी सिमेन्ट कम्पनीले  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र नबिल इन्भेस्टमेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतामा निष्कासन कम्पनी घोराही सिमेन्टको तर्फबाट सञ्चालक आदित्य संघाईले हस्ताक्षर गरेका छन् ।

२०६४ सालमा दर्ता भई २०६९ सालदेखि आफ्नै चुनढुङ्गा खानीमार्फत् क्लिंकर उत्पादन गरी व्यावसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट कम्पनी दाङ जिल्लामा रहेको छ । कम्पनीले सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।

त्रिवेणी र विशाल समुहबाट संयुक्त रुपमा सञ्चालन भइरहेको घोराही सिमेन्ट क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोस्रो उद्योगमा पर्छ  । हाल कम्पनीले नेपालमा सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपीसी र पीपीसी सिमेन्टको उत्पादन गरिरहेको छ ।