इटहरीः आइतबार साधारण शेयर निष्कासनका लागि हिमालयन क्यापिटल र नबिल बैंकसँग सम्झौता गरेको घोराही सिमेन्ट कम्पनीको आईपीओ कित्ताको ४ सय ३५ रुपैयाँमा निष्कासन हुने भएको छ । 

कम्पनीले आइतबार दुई बिक्री प्रबन्धकसँग सम्झौता गर्दै प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रतिबद्धता सार्वजनिक गरेको हो । नागरिक लगानी कोष (सीआइटी) ले घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडको साधारण शेयर (आईपीओ) प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट सञ्चालक आदित्य संघाईले हस्ताक्षर गरेका छन् ।

घोराही सिमेन्टले प्रिमियम भाउमा ७९ लाख ४३ हजार आठ सय एक कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । फेस भ्याल्यू एक सय रुपैयाँमा तीन सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता चार सय ३५ रुपैयाँको दरले आईपीओ जारी गर्न लागेको हो । यस आधारमा कोेषले कुल तीन अर्ब ४५ करोड ५५ लाख ५३ हजार चार सय ३५ रुपैयाँ बराबरको शेयरको प्रत्याभूति गर्नेछ ।