इटहरीः पुस ६ र ७ गते मोरङको लक्ष्मीमार्गमा स्थानीय तेक्वान्दो डोजाङ प्रशिक्षक इन्द्रबहादुर लामा तामाङले आयोजना गर्ने प्रदेश नम्बर १ स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

सो प्रतियोगितामा मोरङ जिल्लाबाट भाग लिने खेलाडीको छनोट चरण पूरा भएको छ । सुन्दरहरैंचाको विराटचोकमा रहेको बालसदन एकेडेमीको मैदानमा भएको कार्यक्रममार्फत् खेलाडी छनोट गरिएको छ ।

राष्ट्रिय तेक्वान्दो सङ्घ नेपालको जिल्ला कार्यसमिति मोरङले जनाएअनुसार विभिन्न तौल समूहका लागि मोरङबाट १० जना खेलाडी छनोट भएका छन् । सङ्घका अनुसार ९७ जना खेलाडीमध्येबाट १० जना छनोट गरिएको हो ।

राष्ट्रिय तेक्वान्दो सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् मुख्य प्रशिक्षक हरिबहादुर बुढाथोकी तथा पूर्व क्षेत्रीय अध्यक्ष ज्ञानेन्द्र विश्वकर्माको उपस्थितिमा छनोट चरण सम्पन्न भएको बताइएको छ । सङ्घका प्रदेश संयोजक पीताम्बर पौडेलको मुख्य निर्णायक तथा प्रशिक्षकहरू द्वारिका रेग्मी, सूर्य दंगाल, दिनेश गिरी, इन्द्रबहादुर तामाङ, सुजन कार्की, प्रसन्न तिम्सिना, अभिषेक माझी, रोशन श्रेष्ठ, आकाश चौधरी आदिको सहयोगमा निर्णय लिइएको सङ्घले जनाएको छ ।

प्रशिक्षक सूर्य दंगालका अनुसार प्रतियोगितामा प्रतिष्पर्धा गर्नका लागि ४२ केजी तौल समूहबाट केशव खड्का, ४५ केजी तौल समूहबाट दोर्जे दोर्ची शेर्पा, ४८ केजी तौल समूहबाट रोहन बिक, ५१ केजी तौल समूहबाट विजय लिम्बू, ५४ केजी तौल समूहबाट नामछुवा राई र ६३ केजी तौल समूहबाट जीतबहादुर खवास चयन भएका छन् ।

महिलातर्फ ४२ केजी तौल समूहमा नीता नेपाली, ४६ केजी तौल समूहमा नितिसा राई, ५४ केजी तौल समूहमा योङ्चोक्मा लिम्बू र ६२ केजी तौल समूहमा पनिरा पराजुली चयन भएका छन् ।