धरानः डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल संघको प्रविधिक सहयोगमा आयोजित प्रदेश १ स्तरीय अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू मेमोरियल डिपो बास्केटबल रनिङ्ग कपको पहिलो दिन सगरमाथा स्कुल, चिल्ड्रेन एकेडेमी, टावर टेम्पल स्कुल बिर्तामोड र कार्मेल हाइ स्कुल विजयी भएका छन् ।
आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सगरमाथा स्कुलले युएन स्कुललाई २४–२२, चिल्ड्रेन स्कुलले हिमशिखर तरहरालाई ३४–१४, टावर टेम्पल स्कुल बिर्तामोडले धरानको सुनाखरी स्कुललाई ३९–२ र कार्मेल स्कुलले दिल्ली पब्लिक स्कुललाई २६–१५ अङ्कको अन्तरले पराजित गरेका छन् ।
प्रतिस्पर्धात्मक बनको पहिलो खेलमा सगरमाथा स्कुल र युएन स्कुलले प्रत्येक क्वार्टरमा ७–६, ०–४, ८–६ र ९–६ अङ्क जोडेका थिए । दोस्रो खेलमा चिल्ड्रेन स्कुल र हिमशिखर स्कुलल तरहराले ७–७, ४–३, ११–४ र १२–० अङ्क जोडेका छन् ।
यसैगरी, तेस्रो खेलमा टावर टेम्पल र सुनाखरी स्कुलले १२–०, १४–०, ९–० र ५–२ अङ्क जोडे । चौथो खेलमा कामे्रल स्कुल र दिल्ली पब्लिक स्कुलले २–२, ६–२, ११–९ र ९–२ अङ्क जोडे ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका प्रमुख मेयर हर्क साम्पाङ र कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्ययवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्बूले संयुक्त रुपमा पानसमा दीप बालेर गरेका थिए । प्रमुख अतिथि मेयर साम्पाङले धरानको खेलकुद क्षेत्रको विकासमा संघीय र प्रदेश सरकारले नै विशेष योजना र लगानी गर्नुपर्ने मन्तव्यको क्रममा बताए ।
डिपो स्कुलले विद्यालयको व्यवस्थापन समितिका पूर्वअध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्बूको सम्मानमा प्रतियोगिता आयोजना गरे पनि बास्केटबल खेल र खेलाडी उत्पादनमा यसको महत्वपूर्ण भूमिका रहने कार्यक्रमका विशेष अतिथि सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले बताए ।
प्रतियोगिता डिपो स्कुल व्यवस्थापन समितिका पूर्वअध्यक्ष मेजर श्रवणकुमार लिम्बूको सम्मानमा आयोजना गरिएको हो । वि.संवत १९९४ मा जन्मिएका लिम्बूको आजैको दिन २०७८ श्रावण १५ गते ८३ वर्षको उमेरमा निधन भएको थियो । उनले २०४७ देखि २०६२ सालसम्म विद्यालयको व्यवस्थापन समितिमा सल्लाहकार, २०५९ सालदेखि विद्यालयको बोर्ड अफ ट्रस्ट्रिजमा अध्यक्ष र २०६२ सालदेखि निरन्तर व्यवस्थापन समितिको अध्यक्षको रुपमा जिम्मेवारी सम्हालेका थिए ।
प्रतियोगितामा धरान र धरान बाहिरका गरी १६ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको सम्पूर्ण खेल आयोजक डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न गर्ने तयारी भएता पनि उद्घाटन कार्यक्रमको क्रममा पानी पर्न सुरु भएपछि प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो खेल धरान १६ स्थित कभर्डहलमा सम्पन्न भएको थियो । अन्य दिनमा पनि वर्षाले खेल सञ्चालनमा बाधा पुर्याए बाँकी खेलसमेत धरान १६ स्थित कभर्डहलमा आयोजना गरिने डिपो आर्दश बहुमुखी क्याम्पसका प्रमुख राजकुमार राईले जनाए ।
उद्घाटन कार्यक्रममा विद्यालयको बोर्ड अफ ट्रस्ट्रिजका कार्यवाहक अध्यक्ष भीमराज लिम्बू प्रतियोगिताका संयोजक एवं व्यवस्थापन समिति सदस्य सिंगापुर पुलिस एएसपी वीरेन्द्रविक्रम लिम्बू, व्यवस्थापन समिति सदस्य सूर्य पन्धाक, धरान बास्केटबल संघका सँस्थापक डिएसपी खेगेन्द्र रिजाल लगायतको उपस्थिति रहेको थियो ।
भोलिको पहिलो खेल आयोजक डिपो स्कुलविरुद्ध होलिल्याण्ड स्कुल, दोस्रो खेल समिट स्कुलविरुद्ध लोटस स्कुल र तेस्रो खेल सियोन स्कुलविरुद्ध विश्व आर्दश स्कुल इटहरीबीच हुनेछ ।