धरानः डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल संघको प्राविधिक सहयोगमा आयोजित प्रदेश १ स्तरीय अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू मेमोरियल डिपो बास्केटबल रनिङ्ग कपको दोस्रो दिनको खेलमा होलिल्याण्ड स्कुल, लोटस स्कुल, केके इन्टरनेसनल स्कुल र सियोन स्कुल विजयी भएका छन् ।
वर्षाका कारण धरान १६ स्थित कभर्डहलमा खेलाइएको दोस्रो दिनको खेलमा होलिल्याण्ड स्कुलले आयोजक डिपो स्कुललाई ३१–१८, लोटस स्कुलले समिट स्कुललाई २८–० र सियोन स्कुलले विश्व आर्दश स्कुल इटहरीलाई ३८–८ अंकले पराजित गरेको थियो । तेस्रो खेल सयपत्री स्कुल तरहराले केके इन्टरनेसनललाई वाकओभर दिएपछि केके स्वतः विजयी घोषित भएको छ । दोस्रो दिन सोमबार भएको खेलमा होलिल्याण्ड स्कुल र डिपो स्कुलले १०–५, ६–५, ४–२ र ११–६ अंक जोडेका थिए । दोस्रो खेलमा लोटस र समिट स्कुलले ९–०, ४–०, ९–० र ६–० अंक जोडेका छन् ।
यसैगरी, तेस्रो खेलमा सियोन स्कुल र विश्व आर्दश स्कुलले १०–०, ५–२, १५–२ र ८–४ अंक जोडे । प्रतियोगितामा धरान र धरान बाहिरका गरी १६ वटा विद्यालयले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेता टिमले नगद १५ हजार, उपविजेता टिमले नगद सात हजार ५ सय रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी र हाइस्कोररले जनही नगद दुई हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । भोलिदेखि भने क्वार्टरफाइनल खेल सुरु हुनेछ । क्वार्टरफाइनल खेलमा सगरमाथा स्कुलविरुद्ध होलिल्याण्ड स्कुल, केके इन्टरनेसनलविरुद्ध चिल्ड्रेन एकेडेमी, कामे्रल स्कुलविरुद्ध लोटस स्कुल र टावर टेम्पल झापाविरुद्ध सियोन स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।