इटहरीः देशभरका विभिन्न मेडिकल कलेजमा अध्ययनरत हजारभन्दा बढी विद्यार्थी एवं चिकित्सक मंसिर २९ गते देखि ८ दिनका लागि धरानमा जम्मा हुने भएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा शुरु हुने ‘साइन्याप्स’ नाम दिइएको सप्ताहव्यापी कार्यक्रममा विद्यार्थी, चिकित्सक एवं आवासीय चिकित्सक भेला हुने भएका हुन् ।

मंसिर २९ गतेदेखि पुस ७ गतेसम्म आयोजना हुने कार्यक्रममा खेलकुद तथा सांस्कृतिक एवम् साहित्यिक गोष्ठी तथा समारोह आयोजना गरिने कार्यक्रम आयोजक समितिका मिडिया संयोजक शुभमकुमार अग्रवालले जानकारी दिए ।

सन् २००६ देखि हरेक २ वर्षमा आयोजना हुँदै आएको साइन्याप्समा देशभरका मेडिकल विद्यार्थी सहभागी हुने र विभिन्न कार्यक्रममा प्रतिष्पर्धा गर्ने गरेका छन् । यसपटक कार्यक्रमको पहिलो दिन बिहान हुने वाकाथनबाट औपचारिक उद्घाटन हुनेछ । यसमा प्रतिष्ठान एवम् अरु मेडिकल कलेजका पदाधिकारी, फ्याकल्टी, विद्यार्थी, चिकित्सक एवं आवासीय चिकित्सकले सहभागिता जनाउने छन् । समारोहको दोस्रो दिन पुस १ गतेदेखि अन्तिम दिन पुस ७ गतेसम्म विभिन्न साहित्यिक, खेलकुद र सांस्कृतिक प्रतियोगिता गरिने कार्यक्रम भएको बताइएको छ ।

यसपटक साइन्याप्समा खेलकुदअन्तर्गत अन्तरकलेज क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, फुटसल, क्रिक्सल, कबड्डी, टेबलटेनिस, ब्याडमिन्टन, चेस, एथ्लेटिक्स र मोबाइल तथा कम्प्युटर गेमका छुट्टाछुट्टै प्रतियोगित हुने आयोजक कमिटीका अध्यक्ष राजन सिंहले जानकारी दिए ।

त्यसैगरी, साहित्यिक कार्यक्रमअन्तर्गत क्वीज, स्पेलिङ बि, वक्तृत्वकला, वादविवाद, फोटोग्राफी, स्केचिङ र पेन्टिङ, सर्ट स्टोरी लेखन, निबन्ध लेखन, पुस्तक समीक्षा लेखन र कविताका प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

हरेक दिन सांस्कृति तथा सांगीतिक कार्यक्रम हुनेछन् । यसका साथै सांस्कृतिक कार्यक्रमअन्तर्गत अन्तरकलेज नृत्य र गायन प्रतिष्पर्धा, ब्याटल अफ ब्यान्ड्स, युट्युब सेन्सेसनजस्ता प्रतियोगिताहरु आयोजना गरिने छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन पुस ७ गते गायक सबिन राईले बृहत सांगितक कार्यक्रम तथा कन्सर्ट गर्नेछन् । कार्यक्रमलाई मेडिकल साइन्सका विद्यार्थीहरुको अहिलेसम्मकै सबैभन्दा बृहत समारोह भएको दावी समितीका सदस्य आशिष झाले गरेका छन् ।

यस बर्षदेखि प्राय सबै मेडिकल कलेजहरुले विद्यार्थीहरुलाई विभिन्न प्रतियोगिताहरुकालागि तयार गरेकाले गत बर्षहरु भन्दा यो बर्ष खेल तथा अन्य कार्यक्रमहरुको स्तर बढ्ने र कार्यक्रमहरु निकै रोचक र प्रतिस्पर्धात्मक हुने कार्यक्रमका मिडिया संयोजक तथा प्रतिष्ठानमा एम.बि.बि.एस चौथो बर्षमा अध्ययनरत शुभमकुमार अग्रवालले बताए ।