धरानः होलिल्याण्ड स्कुल, चिल्ड्रेन एकेडेमी, कार्मेल र टावर टेम्पल स्कुल बिर्तामोड प्रदेश १ स्तरीय अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू मेमोरियल डिपो बास्केटबल रनिङ्ग कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

वर्षाका कारण तेस्रो दिन पनि धरान १६ स्थित कभर्डहलमा खेलाइएको क्वार्टरफाइनल खेलमा होलिल्याण्ड स्कुलले सगरमाथा स्कुललाई ५२–२१, चिल्ड्रेन एकेडेमीले केके स्कुललाई ४५–१८, कार्मेल स्कुलले लोटस स्कुललाई २१–१४ र टावर टेम्पलले सियोन स्कुललाई २५–१६  अंकले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । पहिलो क्वार्टरफाइनल खेलमा चिल्ड्रेन र सगरमाथा स्कुलले प्रत्येक क्वार्टरमा ९–५, २०–६, ६–४ र १७–६ अंक जोडेका थिए । दोस्रो खेलमा चिल्ड्रेन र के के स्कुलले ८–२, १६–२, ११–४ र १०–१० अंक जोडे ।

यसैगरी, तेस्रो क्वार्टरफाइनल खेलमा कार्मेल र लोटस स्कुलले ७–१, ८–०, २–६ र ४–७  अंक जोडे । अन्तिम खेलम टावर टेम्पल र सियोन स्कुलले ३–२, ९–२, ६–२ र ७–१० अंक जोड्दै सेमिफाइनल पवेश गरे । भोलि हुने पहिलो सेमिफाइनल खेलमा चिल्ड्रेन एकेडेमीले कार्मेल स्कुल र दोस्रो सेमिफाइनल खेल होलिल्याण्ड स्कुलले टावर टेम्पल स्कुल बिर्तामोडसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा धरान र धरान बाहिरका गरी १६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका विजेता टिमले नगद १५ हजार, उपविजेता टिमले नगद सात हजार ५ सय रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगिताका उत्कृष्ट खेलाडी र हाइस्कोररले जनही नगद दुई हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल श्रावण २० गते हुने आयोजकले जनाएको छ ।