इटहरीः अखिल नेपाल फुटबल सङ्घ एन्फाले फुटबलको आधारभूत प्रशिक्षक प्रशिक्षण कार्यक्रम एक नम्बर प्रदेशबाट शुरु गरेको छ । एन्फा सुनसरीको संयोजनमा सोमबारबाट इटहरीमा शुरु भएको फुटबलको आधारभूत प्रशिक्षक प्रशिक्षण कार्यक्रम आगामी शुक्रबारसम्म चल्नेछ ।

एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राईले कार्यक्रमको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै राईले नेपाली फुटबलमा लामो सङ्घर्षपछि परिवर्तन आएकाले फुटबलले गति लिन थालेको बताए । उनले फुटबलमार्फत् नेपाललाई चिनाउने माध्यम बनाउने गरी काम गर्न एन्फा लागिपरेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै एन्फा प्रवक्ता किरण राईले नेपाली फुटबलमा लामो समयदेखिको सिण्डिकेट अन्त्य भएकाले यस प्रकारको प्रशिक्षक प्रशिक्षण कार्यक्रम ल्याउन वर्तमान कार्यसमिति सफल भएको बताए । देश सङ्घीयतामा गएसँगै नेपाली फुटबलको संरचना पनि परिवर्तन गर्न लागिएकाले एन्फाले प्रदेश लिग र जिल्ला लिग गर्ने तयारी गरेको जानकारी दिए ।

एन्फा केन्द्रीय सदस्य दीपक राईले सहभागी प्रशिक्षार्थीलाई आधारभूत तालिमपछि लाइसेन्सको लागि सिफारिश गरिने बताए ।
तालीममा एक नम्बर प्रदेशका १० जिल्लाबाट ३४ जना सहभागी रहेको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए ।

५ दिनसम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा एन्फाका प्राविधिक निर्र्देशक ताकिता चाइकी, एन्फा उपाध्यक्ष एवम् प्रशिक्षक उपेन्द्रमान सिंह, एन्फा ग्रास सुट म्यानेजर सञ्जित सिंहले प्रशिक्षण दिनेछन् ।

गोलकिपरका लागि मित सुमारा तोसिहिरोले प्रशिक्षण दिने कार्यक्रम रहेको एन्फा सुनसरी कोषाध्यक्ष कोबितजंग कार्कीले जानकारी दिए ।