इटहरीः आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश १ खेलकुद विकास बोर्डले छनौट तालिका सार्वजनिक गरेको छ । 

सामाजिक विकास तथा खेलकुद मन्त्रालय विराटनगरमा सोमबार १४ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यालय प्रमुखहरुसँग अन्तरक्रियाको आयोजना गर्दै बोर्डले तयारी थालेको हो । १४ वटै जिल्लाका खेलकुद विकास समितिका पदाधिकारीसँग अन्तरक्रिया गर्नुअघि सामाजिक विकास मन्त्री राजन राईले आइतबार बोर्डका सदस्यसचिव सहितको टोली र सरोकारवालासँग छलफल गरेका थिए । 

यसअघि नै खेलाडीहरुको नामावली र कुन प्रतियोगितामा भाग लिने हो त्यसको विवरण संकलन गर्न फारमसहित सबै जिल्लामा पत्रचार गरिसकिएको प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेशकुमार बिष्टले बताए । सोमबार भएको अन्तरक्रिया कार्यक्रममा १४ वटै जिल्लाका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो । प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रमबाट जिल्ला छनौट र प्रदेश छनौटको तालिका सार्वजनिक गरिएको छ । 

294824419_1030007261020168_3992406934559793922_n

नवौँ राष्ट्र्रिय खेलकुदको तयारीको सन्दर्भमा प्रदेश नं १ को १४ वटै जिल्लामा भदौ २ गतेदेखि ७ गतेसम्म जिल्ला छनौट सम्पन्न गर्ने निर्णय गरेको छ भने भदौकै १० गतेदेखि १९ गतेसम्म प्रदेश छनौट गरिने निर्णयसमेत भएको बोर्ड सदस्य बिष्टले प्रदेश पोर्टललाई जानकारी दिए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुलाई सदस्यसचिव वाग्लेले खेलाडीलाई जतिसक्दो खेलको वातावरण मिलाउन निर्देशन दिएका थिए ।

प्रदेशले धेरैभन्दा धेरै मेडल कसरी ल्याउन सकिन्छ भन्ने बिषयमा केन्द्रित भएर तयारीमा जुट्न सदस्यसचिव वाग्लेको निर्देशन थियो । जिल्ला छनौटपछि कम्तिमा ६ हजार खेलाडीहरु प्रदेश छनौटको लागि तयार हुने बोर्डको अनुमान रहेको छ । हरेक जिल्लामा कम्तिमा एक एक वटा प्रतियोगिता गरेरै अगाडि जाने भन्ने विषयमा समेत छलफल भएको बोर्ड सदस्य बिष्ट बताउँछन् ।