लुम्बिनीः गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकमा सहमति भएका विषयलाई समेटेर नै सरकारले सदनमा पेस गरेर पारित गरेको बताएका छन् । वर्षौंदेखि नागरिकताविहीन युवाहरूको भावना सम्बोधन गर्न सरकारले दलहरूबीच सहमति गरेर विधेयक सदनबाट पारित गरेको उनले बताए ।

उनले भने, ’बाबुआमा नेपालमा रहेको तर छोराछोरी नागरिकताविहीन हुँदा राज्यबाट पाउनुपर्ने सबै अधिकारबाट वञ्चित युवाहरूको भावनाअनुसार विधेयक पास गरिएको हो ।’

सरकारले सबै दलका नेताहरुूसँग गहन छलफल गरेर यो विधेयक सदनमा अघि बढाएको पनि उनले बताए ।

नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपतिकहाँ स्वीकृतिका लागि पठाइएको र यो विधेयक छिटो स्वीकृत होस् भन्ने आम नेपाली जनताको चाहना रहेको उनले उल्लेख गरे ।

उनले नेपालका हिमाल, पहाड र तराई जुन भूभागमा बसोबास गरेको छ त्यहीकै समुदायले नै भूगोलको रक्षा गरेको चर्चा गर्दै नेपाली भाषा, संस्कृति र भूगोलको रक्षा गर्ने वास्तविक नेपाली नागरिक नै राष्ट्रियताको संरक्षक भएको बताए । -रासस