दाङः शहरी विकास मन्त्री मेटमणि चौधरीले विकास, निर्माण र सम्वृद्धि चाहने हो भने सबै मिल्नुपर्ने धारणा राखेका छन् ।

शनिबार लमहीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘साँचो अर्थमा विकास चाहने हो भने समाजका सबै पक्ष, सबै वर्ग र सबै जनता मिल्न जरुरी छ । कसैले म एक्लै गर्न सक्छु भन्छ भने त्यो मुर्खता मात्र हो ।’ ‘बीपी स्मृति भवनलाई बजेट छुट्याएको छु । अब जनमोर्चा समेतलाई छुट्याउँछु ।

हिन्दु, गुम्बादेखि क्रिश्चियनसम्मलाई बजेट छुट्याइनेछ । सबै जनताले राज्य मेरो हो भन्ने महसुस गर्नुपर्छ ।’ मन्त्री चौधरीले थपे । दाङ देउखुरीले अब मुहार फेर्ने धारणा राखेका सहरी मन्त्री चौधरीले देउखुरीबाट स्वर्गद्वारी जोड््ने केब’लकार, माइक्रो ट्रेन, बबई नदीदेखि मुसोटसम्म सुरुङ मार्ग, राप्ती नदीमा बृहत तटबन्धसहित राप्ती कोरिडोर निर्माणजस्ता महत्वपूर्ण परियोजना सुरु गरिने जनाए ।

मन्त्री चौधरीले उनकै पलमा निर्माण भएको दलित सचेतना अभियान लमहीको भवन उद्घाटन, २० करोडको लागतमा बन्न लागेको लमही बहुउद्देश्यीय भवनको शिलान्यास गरेका थिए भने थारुकल्याणकारिणी सभा देउखुरी, नेपाल नेत्रज्योति संघ, उद्यमी महिला बचत तथा ऋण सहकारीलगायत विभिन्न संघसँस्थाहरुले सम्मान गरेका थिए ।