धरान/ भुटानमा सम्पन्न भएको यु १९ साफ च्याम्पियनसिपमा नेपाललाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका फुटबलर रोमन लिम्बू धरान वर्ष खेलाडी २०७४ घोषित भएका छन् ।
धरान उपमहानगरपालिकाअन्तर्गतको नगर खेलकुद समितिले धरान १५ का १९ वर्षीय लिम्बूलाई आइतबार वर्ष खेलाडी घोषित गरेको हो । उनलाई वर्ष खेलाडी सम्मानसँगै नगद १ लाख रुपैयाँ पनि प्रदान गरिएको थियो ।
समितिले ट्रफी र प्रमाणपत्र पनि प्रदान गरेको थियो । उनलाई धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी, खेलकुद समितिका अध्यक्ष सुवास राई, एन्फाका मानार्थ उपाध्यक्ष किशोर राईलगायतले नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । वर्ष खेलाडी सम्मान पाउँदा रोमनसँगै उनका अभिभावक पनि दंग थिए । ‘आफ्नै ठाउँमा पुरस्कार पाएँ, धेरै नै खुशी छु । बुबाआमाको सपोर्टले गर्दा यो ठाउँमा आइपुगेको छु’ खेलाडी लिम्बूले भने ।
फुटबलर रोमनले यु १९ साफ च्याम्पियनसिपमा फाइनलमा २ गोल गरेर उपाधि जिताएका थिए । उनले २० औं बुढासुब्बा गोल्डकपमा उदीयमान खेलाडीको पुरस्कार पनि हात पारेका थिए भने ललित मेमोरियल युथ फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबबाट खेल्दा उनको टोलीले प्रथम स्थान हात पारेको थियो ।
सानैदेखि फुटबलमा रुचि भएका रोमन यु १४ मा छनोट भएपछि एन्फा एकेडेमीले राखेको थियो । उनले नेपालको यु १४, यु १६ र यु १९ टिममा प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । छोराले सम्मान पाउँदा उनका बुबा बलबहादुर र आमा सुनिता लिम्बू पनि असाध्यै खुशी थिए । ‘छोरा सानैदेखि फुटबल खेल्थ्यो, उसको प्रगति देख्दा हामी पनि खुशी छौं,’ बुबा बलबहादुरले भने ।
उपप्रमुख मञ्जु भण्डारी सुवेदीले खेल पूर्वाधारसँगै खेलको विकास र खेलाडीको सम्मानमा उपमहानगरपालिकाले स्पष्ट भिजन बनाएर अघि बढेको बताइन् । खेल र खेलाडीलाई माया गर्ने र प्रोत्साहन गर्ने उद्देश्यअनुरूप वर्ष खेलाडी कार्यक्रमको प्रारम्भ गरिएको उनले बताइन् । आगामी वर्षमा खेलकुदको बजेट थप वृद्धि गर्दै जाने पनि उनले बताइन् ।
उनले दुवै मृगौला पीडित उसुका भोलेन्टियर प्रशिक्षक विकी राईलाई नगद १ लाख उपचार सहयोग गर्ने निर्णय गरिएको पनि बताइन् । पुरस्कार वितरण समारोहमा बोल्दै एन्फा उपाध्यक्ष किशोर राईले पुरस्कार पाउनेलाई मात्र नभई अभिभावक र साथीभाइलाई पनि खेलकुदमा लाग्न हौसला, प्रेरणा मिल्ने धारणा व्यक्त गरे । सोही कार्यक्रममा खेलकुद समितिले बक्सिङ संघ सुनसरी, उसु संघ, सितेरियो कराते संघ, तेक्वान्दो संघलाई आवश्यक खेलकुद सामग्री पनि वितरण गरेको थियो । युवा खेलाडी एवं प्रतिभालाई खेलकुदमा थप प्रोत्साहित गर्ने लक्ष्य राखेर समितिले वर्ष खेलाडी पुरस्कार दिन शुरु गरेको हो ।