विराटनगरः नेपाल तेक्वान्दो संघले प्रदेश १ भरिका तेक्वान्दोका रेफ्रीहरुलाई प्रदेश नम्बर १ को राजधानी विराटनगरमा भेला गरेर तीन दिने रिफ्रेसमेन्ट कोर्स अर्थात् पुनर्ताजगी तालिमको आयोजना गरेको छ ।

नेपाल तेक्वान्दो संघको आयोजना तथा प्रदेश तेक्वान्दो संघ प्रदेश नम्बर १ को संयोजनमा विराटनगरस्थित कभर्डहलमा आयोजना भएको रेफ्री सेमिनारमा प्रदेशभरिका ९२ जना रेफ्रीहरु सहभागी भएको राष्ट्र्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षक कविराज खड्गीले बताए । विश्वभरि नै तेक्वान्दोको नियम परिवर्तन भएको हुँदा एकै नियम र परिधिमा खेलिने तेक्वान्दो खेललाई रेफ्री पुनर्ताजगी तालिमको आयोजना गर्न आवश्यक परेको तेक्वान्दो संघका महासचिव तथा नेपालमा तेक्वान्दोका जन्मदाता दीपराज गुरुङ्गले बताए । पुनर्ताजगी तालिममा एक दुई जना रेफ्री सहभागी ह’न छुटेको भएता पनि प्रदेश नम्बर १ का सबै रेफ्रीहरुको सहभागिता भएको आयोजक नेपाल तेक्वान्दो संघका प्रदेश १ अध्यक्ष शैलेशकुमार बिष्ट बताउँछन् ।

299253642_744927123455187_1042617393402098892_n

विश्व तेक्वान्दो महासंघले खेलको नियम परिवर्तन भएपछि पहिला नेपालको तर्फबाट २ जना प्रशिक्षकहरु भीम विक र टार्जन सुव्वालाई जापानमा तालिम दिएको र उनीहरुले नयाँ नियमसम्बन्धी प्रशिक्षण काठमाडौँमा आयोजना गरेपछि नेपाल तेक्वान्दो संघले देशैभरि पुनर्ताजगी तालिमको आयोजना गरेको तेक्वान्दोका प्रशिक्षक तथा रेफ्री टार्जन सुव्वा बताउँछन् । नेपाल तेक्वान्दो संघले हासलम्म बाग्मती प्रदेशको काठमाडौँ र गण्डकी प्रदेशको पोखरामा रेफ्री सेमिनार तथा पुनर्ताजगी तालिमको आयोजना गरिसकेको र प्रदेश १ तेस्रो नम्बरमा परेको पनि तेक्वान्दोका सँस्थापक दीपराज गुरुङ्गले बताए । एउटा खेल सञ्चालन गर्न पहिलेको नियमअनुसार ४ जना रेफ्री अनिवार्य भएकोमा नयाँ नियमअनुसार ३ जना अथवा अनिवार्य रुपमा २ जना भएपनि खेल सञ्चालन गर्न सकिने प्रशिक्षक कविराज खड्गी बताँउछन् ।

299079117_1413717682449724_6744827405751184918_n

तेक्वान्दोको नयाँ नियम विश्वभरि नै आगामी सेप्टेम्बर १ बाट लागु हुने प्रशिक्षक टार्जन सुव्वाले बताए । नयाँ नियममा धेरै परिवर्तन भएको र जसले गर्दा खेल्ने खेलाडीलाई सजिलो बनाइदिएको साथै खेलको स्तरसमेत वृद्धि हुने प्रशिक्षक सुव्वाको भनाइ छ । सामान्य तथा तेक्वान्दोमा रेफ्री बन्नको लागि सेकेण्ड डानको उपाधि पाएको र २० वर्षभन्दा बढी उमेर भएको मापदण्ड पूरा गर्नुपर्छ । यही अगस्ट महिनाको १३ तारिखदेखि १६ तारिखसम्म विराटनगरमा सम्पन्न भएको तालिममा सहभागीबाटै नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दोमा सहभागी हुने खेलाडीको रेफ्री छनौट हुने बताइएको छ । ककसलाई रेफ्रीमा छनौट गर्ने भन्ने निर्णय भने रेफ्री संघको हुने बताइन्छ । प्रदेश १ को रेफ्री संघको संयोजकमा तेक्वान्दोका अन्तराष्ट्रि«य रेफ्री नारायण बुढाथोकी रहेका छन् ।

299307714_781240396561621_5335406818264195531_n

मंगलबार भएको रेफ्री सेमिनार तथा पुनर्ताजगी तालिमको समापन समारोहमा प्रमुख अतिथिको रुपमा रहेका प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले नेपालमा, त्यो पनि प्रदेश १ मा तेक्वान्दोको गौरवान्वित इतिहास रहेको बताए । तालिमप्राप्त रेफ्रीरुलाई बधाइ ज्ञापन गर्दै मन्त्री राईले नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगितामा प्रदेशका लागि मेडल ल्याउने खेलाडीहरुलाई प्रदेश सरकारले सम्मान गर्ने बताए । तालिममा सहभागी खेलाडीहरुलाई सामाजिक विकास मन्त्रालयमा सचिव दीर्घराज मैनाली र प्रमुख अतिथि मन्त्री राईले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । नेपाल तेक्वान्दो संघ प्रदेश १ का सदस्य युवराज काफ्लेले सञ्चालन गरेको कार्यक्रममा प्रदेश कार्यसमितिका पदाधिकारीहरु, तेक्वान्दो संघ मोरङ्गका अध्यक्ष दिवस नेपाल, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्द्रिका बास्तोला, उपनिर्देशक विमल पोखरेल लगायतको उपस्थिति रहेको थियो । तेक्वान्दो संघ मोरङ्गका अध्यक्ष दिवस नेपालले स्वागत गरेको कार्यक्रम तेक्वान्दो संघ प्रदेश १ का अध्यक्ष शैलेशकुमार बिष्टको सभापतित्वमा सम्पन्न भएको थियो ।