धरानः मिराकल बास्केटबल क्लबको आयोजनामा आयोजित मिराकल थ्री बाइ थ्री महिला पुरुष ओपन बास्केटबल प्रतियोगिताको उपाधि यलम्बर बास्केटबल क्लबले चुमेको छ ।

धरान १६ स्थित धरान रंगाशालाको कभर्डहलमा आयोजित प्रतियोगिताको महिला तथा पुरुष दुवै उपाधि यलम्बर क्लबले जितेको हो । यलम्बरले प्रतियोगिताको महिला तर्फको फाइनल खेलमा आयोजक मिराकल व्ल्याकलाई ७ –१ र पुरुषतर्फ व्रदर्सलाई १३–५ अंकको अन्तरले पराजित गर्दै दुवै उपाधिमाथि कव्जा जमाएको हो । उपाधिसँगै यलम्बर महिला टिमले नगद चार हजार, पुरुष टिमले नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पार्यो । उपविजेता महिलातर्फ मिराकलव्ल्याक टिमले नगद दुई हजार रुपैयाँ, पुरुषतर्फ ब्रदर्सले नगद ५ हजार, ट्र्रफी र प्रमाणपत्र हात पारेको छ ।

20220819_182038

यसैगरी, प्रतियोगिताका उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयरको महिला र पुरुष तर्फका दुवै उपाधि यलम्बर क्लबका शीतल तामाङ र दिवस राईले हात पारे । उनीहरुले ट्र्रफी र प्रमाणपत्र प्राप्त गरे । विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रतियोगिताका प्रमुख अतिथि सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, मिराकल बास्केटबल क्लबका अध्यक्ष सन्तोष तामाङ्ग र प्रदेश १ का बास्केटबल मुख्य प्रशिक्षक विकास चाम्लिङ राईले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको सेमिफाइनल खेलमा महिलातर्फ यलम्बर टिमले रेड डेभिल्सलाई ५–४ र मिराकल व्ल्याकले धरान मेघा कलेजलाई ६–१ अंकको अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । त्यसैगरी, पुरुषतर्फ ब्रदर्सले लिजेन्ड टिमलाई ८–७ र यलम्वरले धरान मेघा कलेजलाई १२–५ अंकले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । प्रतियोगितामा धरान र धरान बाहिरका गरी महिलातर्फ एघार वटा टिम र पुरुषतर्फ २७ वटा टिमले सहभागिता जनाएको थियो ।