इटहरीः माघ ११ गतेदेखि १८ गतेसम्म इटहरीमा मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने भएको छ । यसअघि सो गोल्डकप काठमाडौंमा आयोजना गर्ने भनिएको थियो । तर, रङ्गशाला निर्माणको काम नसकिएकाले सो प्रतियोगिता इटहरीमा गर्न लागिएको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

एन्फाले मोफसलमा सञ्चालन हुने २३ वटा गोल्डकप फुटबल प्रतियोगिताको वर्गीकरण गर्नुका साथै खेल तालिका बुधबार सार्वजनिक गर्दै सो प्रतियोगिता इटहरीमा हुने जनाएको हो ।

प्रदेश नम्बर १ मा हुने प्रतियोगिताहरू
एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार आगामी पुस २१ गतेदेखि २९ सम्म पाँचथरको फिदिममा ११ औँ फाल्गुनन्द गोल्डकप हुनेछ । त्यस्तै, माघ १८ देखि २७ गतेसम्म झापामा प्रथम घैलाडुब्बा गोल्डकप र माघ २० देखि २८ गतेसम्म धनकुटामा १४ आँै शहीद भीमनारायण गोल्डकप हुनेछ ।

उता, माघ २६ गतेदेखि फागुन ४ गतेसम्म धरानमा २१ आँै बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप, फागुन ४ देखि ११ गतेसम्म सुनसरीको दुहबीमा तेस्रो मनमोहन दुहबी गोल्डकप हुने भएको छ । फागुन १५ देखि २५ गतेसम्म झापाको बिर्तामोडमा चौथो झापा गोल्डकप र फागुन २३ देखि चैत २ गतेसम्म इलाममा पाँचौँ माइभ्याली गोल्डकप हुने एन्फाले जनाएको छ ।

चैत ७ देखि १७ गतेसम्म मोरङको विराटनगरमा विराट गोल्डकप, चैत १५ देखि २४ गतेसम्म उदयपुरको गाईघाटमा उदयपुर गोल्डकप वैशाख १ देखि १० गतेसम्म दोस्रो दमक गोल्डकप र वैशाख १२ देखि २१ गतेसम्म झापाको काँकडभिट्टामा चौथो मेचीनगर गोल्डकप हुने बताइएको छ ।

एन्फाका अनुसार जारी ए डिभिजन लिग फुटबल सकिएलगत्तै मोफसलमा गोल्डकप प्रतियोगिताहरू शुरु हुने भएका हुन् ।