विराटनगरः मंगलबार दिनभर भएको सामान्य वर्षाका कारण मोरङ्ग जिल्लाको खेलाडी छनौट प्रभावित बनेको छ ।
प्रदेश खेलकुद विकास बोर्डले दिएको कार्यतालिकाअनुसार भदौ ५ गतेबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौट सुरु गरेको मोरङ्गले मौसमले साथ दिए भदौ १० गतेसम्ममा आफ्नो छनौट सम्पन्न गर्ने बताएको छ ।
जिल्ला खेलकुद विकास समिति मोरङ्गका अध्यक्ष श्रवणकुमार ऋषिदेवका अनुसार मंगलबार विराटनगरस्थित कभर्ड हलमा आईटीएफ तेक्वान्दो र व्याडमिन्टनको छनौट भइरहेको छ भने मंगलबार बिहान व्याडमिन्टनको छनौट सम्पन्न भएको थियो ।
भलिबलको छनौट खेल मोरङ्गको लेटाङ्गमा राखिएको अध्यक्ष ऋषिदेवले जानकारी दिए । प्रदेश खेलकुद विकास बोर्डले ३६ वटै खेलमा प्रदेश १ ले भाग लिने बताएको छ, जसमा मोरङ्ग जिल्लाले आफूसँग २८ खेलका खेलाडीले आफ्नो नाम दर्ता गरेको बताएको छ ।